
नेपालगञ्ज- प्रदेश नम्बर- ५ को राजधानी कहाँ बनाउने भन्ने विषयमा स्थानीयहरुले अन्तरक्रिया गरेका छन्। उनीहरुले विहीबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्रदेश राजधानीबारे गहन बहस गरेका छन्।
नेपाललगञ्ज कि कोहलपुर भन्नेमा स्थानीयहरुले विहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा नेपालगञ्जलाई नै राजधानी बनाउनुपर्ने आवाज उठाएका हुन्।
कार्यक्रममा बोल्दै सांसद मो. इस्तियाक राईले नेपालगञ्ज र कोहलपुर नभई बाँकेलाई ५ नम्बर प्रदेशको राजधानी बनाउनु पर्ने बताए। उनले भने, ‘ यदि बाँकेलाई राजधानी नबनाइए सडक आन्दोलन गर्नपर्छ।’ उनले यसको लागि दुई तिहाई नपुग्ने भन्दै पेशागत संगठनको अगुवाइमा कडा आन्दोलनको विकल्प नभउको बताए।
उनले बुटवल बुद्धको भूमि, शान्ति भूमि भएकाले त्यहाँ राजधानी राख्दा अशान्ति हुने बताउँदै नेपालगञ्ज नै हुनु पर्ने जिकिर गरे। उनले भने, ‘बुटवल बुद्धको भूमि, शान्ति भूमि भएकाले त्यहाँ राजधानी राख्दा अशान्ति हुन्छ। दाङलाई राजधानी बनाउन दश वर्ष त पूर्वाधार निर्माणमै समय लाग्छ। त्यसैले पूर्वाधारयुक्त नेपालगञ्ज नै राजधानीको लागि उत्तम हुन्छ।’
त्यस्तै विधायक आइपी खरेल र विजयबहादुर यादवले छरिएर नभई एकजुट भएर एउटै छातामुनिबाट कडा आन्दोलन गर्नुपर्नेमा जोड दिए। ‘पुरानो शहर, भौतिक पूर्वाधारयुक्त रहेकाले नेपालगञ्ज राजधानीका लागि उपयुक्त छ, त्यसका लागि जनताहरु एकजुट भएर सडकमा आउनु पर्छ।’ उनीहरुको जोड थियो।
जिल्ला समन्वय समितिका सभापति अजय श्रीवास्तव, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष कमरुद्दिन राई, तुलसीपुर उच्च अदालत वारका अध्यक्ष बलबहादुर चन्द, जिल्ला वारका उदयराज बर्मा, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, पूर्वअध्यक्ष निरज गौतमलगायतले बाँकेलाई प्रदेश राजधानी बनाउन नसके यहाँका सबै संरचना÷कार्यालयहरु अन्यत्र गएर जिल्ला सुनसान हुने बताए ।
बिहीबारको कार्यक्रममा पनि एमाले, कांग्रेस, माओवादी केन्द्रलगायत अन्य दलका नेताहरुको उपस्थिति थिएन। न त नेपालगञ्ज उद्योग बाणिज्य संघकै प्रतिनिधित्व थियो। प्रदेशको राजधानी सबैलाई चाहिने तर एकजुट भएर आन्दोलनमा ननिस्किने प्रवृत्ति देखिएको छ।