
काठमाडौं- माग पूरा गर्ने सरकारी लिखित प्रतिवद्धतापछि डा. गोविन्द केसीले छ दिनपछि अनसन तोडेका छन्। डा .केसीका माग सम्बोधनका लागि स्वास्थ्यमन्त्री दीपक बोहोराले शुक्रबार मध्यरात पाँचबुँदे सहमति पत्रमा हस्ताक्षर गरेपछि डा. केसीले अनशन तोड्ने निधो गरेका थिए।
डा. केसीको माग अनुसार एक साताभित्र चिकित्सा शिक्षा आयोग गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेछ।
यस्तै आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा पूर्व सम्झौताहरु कार्यान्वयन गर्न त्रिविका कुलपतिले यथाशीघ्र कदम लिनेइनेछ भने त्यसका लागि त्रिवि नियमावली संशोधन गर्न तत्काल सिनेटको विशेष बैठक बोलाउने सहमति भएको छ। यस्तै त्रिवि शिक्षण अस्पताल सुधारका लागि सरकार स्वास्थ्य मन्त्रालयले आर्थिक व्यवस्था गर्ने सहमति डा. केसी पक्ष र सरकारबीच भएको छ।
यसअघिआइतबार सर्वोच्च अदालतले आइओएमका डीनमा चार वर्षअघि बर्खास्ती प्रा डा शशि शर्मालाई चार दिनका लागि पुनर्वहाली गरेपछि सोमबारदेखि डा. केसीले अनसन सुरु गरेका थिए।
प्रधानन्यायाधीश गोपाल पराजुली ‘मेडिकल माफिया’को मतियार भएको भन्दै पराजुलीले राजीनामा दिनु पर्ने डा. केसीको मुख्य माग थियो। अनसनको तीन घण्टामै डा. केसीमाथि अदालतको मानहानी मुद्धा लगाउँदै गोविन्द केसीलाई पक्राउ गरी हिरासतमा राख्न र भोलिपल्ट अदालतमा उभाउन सर्वोच्चले प्रहरी प्रशासनलाई निर्देशन दिएको थियो।
अभिव्यक्ति दिएको भरमा डा. केसीलाई हिरासतमा राखिएको भन्दै केसीको पक्षमा व्यापक जनदबाब थालेपछि बुधबार सर्वोच्चको इजलासले प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्र तथा डा शर्माको पुनर्वहालीको फैसला झिकाउने आदेश दिएको थियो।
फैसला लगत्तै हिरासतबाट छुटेका डा. केसीले सम्बन्धीत चिकित्सा शिक्षासँग सम्बन्धीत अन्य माग पुरा नभएको भन्दै अनसनलाई निरन्तरता दिएका थिए।