सप्तरी-अत्यधिक चिसोका कारण सप्तरीमा मृत्यु हुनेको संख्या २३ पुगेको छ । पछिल्लो पटक सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ रामपुरा टोल बस्ने ५२ वर्षीया सरोदेवी मुखिया र ७० वर्षीया सरस्वतीदेवी साहको मृत्यु भएसँगै यो वर्ष सप्तरीमा मृत्यु हुनेको संख्या २३ पुगेको हो।
त्यस्तै जिल्लाकै सुरुङ्गा नगरपालिका–१ निवासी ५१ वर्षीय अम्बरबहादुर पुलामीको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले जानकारी दिए।
त्यसैगरी पछिल्लो पटक जिल्लाको कञ्चनरुप नगरपालिका ४ का ४२ वर्षिय जडोली सदा, छिन्नमस्ता गाउँपालिका ७ हाटीका अबजल मंसुरीका १३ महिने छोरा अबदुल्हा मंसुरी र तिरुहत गाउँपालिका १ निवासी ६५ बर्षीया भटनि देवी यादवको मृत्यु भएको हो।
विगत डेढ साता देखी बढेको अत्यधिक चिसो तथा शीतलहरका कारण सप्तरीको सप्तकोशी नगरपालिका–१ मा बिहान स्थानीयवासी ६२ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको छ । राति घरमा सुतिरहेका अवस्थामा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको डिएसपी श्रेष्ठले बताए।
शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सोमवार साँझ स्थानीयवासी गुल्डेन मण्डलकी छ महिनाकी छोरी पार्वतीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा पनि स्थानीय आधारभूत विद्यालय कनकपटीमा कक्षा १ मा अध्ययनरत सातवर्षीय जीतेन्द्र कुमार सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीयवासीले बताएका छन्।
त्यस्तै सप्तरीकै खडग नगरपालिका ७ खोरियाका ६० वर्षिय प्रेमबहादुर माझी र तिलाठी कोईलाडी गाउँपालिका ४ का ७० वर्षिय नारायण मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै अत्यधिक शीतलहरको कारण कञ्चनरुप नगरपालिका वडा नम्वर २ बरमझियाका ५५ वर्षिय बेचन शेख र वडा नम्वर ७ का ६१ वर्षिय उत्तम मरिकको मृत्यु भएका छन्।
यसअघि शनिवार कञ्चनरुप नगरपालिका वडा नम्वर ४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, खडक नगरपालिका ८ मुसहर्नियाका ७० वर्षीय मुसहरु चौधरी, कृष्णा सवरण गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुर, तिलाठी कोइलाडी गाउँपालिका ७ का ३६ वर्षिय शिवु मण्डल, डाक्नेश्वरी नगरपालिका ८ का ५५ वर्षिय झौली यादवको मृत्यु भएको छ।
यसअघि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजन ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको चिसोका कारण कठयांग्रिएर मृत्यु भएको थियो।