नेपालगञ्ज– नेपालगञ्जमा १५ किलो लागु पदार्थ चरेशसहित चार जना पक्राउ परेका छन्।एकाबिहानै १५ किलो चरेश बोकेर अटोरिक्साबाट भारततिर हिडेका चार जनालाई बाँके प्रहरीले ट्राफिकचोक अगाडिबाट पक्राउ गरेको हो।
२६ गतेदेखि नेपालगञ्जस्थित एक होटलमा बसेका युवाहरु बिहान ५.१५ बजे नै नाका पार गर्न चरेश बोकेर निस्केका थिए।
रुकुमका हुमान कुँवर, जुम्लाका टेकबहादुर शाही, दैलेखका सूर्यबहादुर रासकोटीमगर र बाग्लुङका सरेमान छम्तेल चरेशसहित पक्राउ परेका हुन्।
दुई जनाले दाङबाट नेपालगञ्ज र दुई जनाले नेपालगञ्जबाट नाका पार गर्ने जिम्मा लिएका थिए। सूर्यबहादुर र सरेमानले दाङबाट चरेश नेपालगञ्ज पुर्याएका थिए। उनीहरुलाई नेपालगञ्जसम्म चरेश पुर्याउन १५-१५ हजार रुपैयाँ दिइएको थियो।
त्यस्तै, नेपालगञ्जदेखि नाका पार गर्न हुमान र टेकबहादुरलाई प्रयोग गरिएको थियो। उनीहरुलाई नाका पार गराएमा १०-१० हजार रुपैयाँ दिने सहमति गरिएको थियो। बिहान अटोरिक्सामा हुमान र टेकबहादुर पक्राउ परेका थिए। उनीहरुले भने अनुसार नै पछि सूर्यबहादुर र सरेमानलाई नियन्त्रणमा लिइएको थियो।
पक्राउ परेका चारैजनाले आफूहरु ‘भरिया’ भएको बताएका छन्। प्रहरीले चरेशका असली मालिकको खोजी थालेको छ। जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जमा राखेर उनीहरुविरुद्ध कारबाही र अनुसन्धान भइरहेको छ।
बाँके प्रहरीले लागु पदार्थ विरुद्ध ‘सिदा’ नामक कारबाही अभियान चलाइरहेको छ। प्रहरीका अनुसार, अभियानअन्तर्गत नै बिहान नियमित जाँच गर्दा चरेश बरामद भएको थियो। ५ र ६ नम्बर प्रदेशका पहाडी जिल्लाबाट चरेश ल्याएर नेपालगञ्ज हुँदै भारततिर पुर्याउने गरिन्छ।
पहाडी जिल्लामा चरेशको उत्पादनसमेत हुने गर्दछ। भारतीय व्यापारीकै लगानीमा उत्पादन हुने चरेशलाई नेपालगञ्ज नाका भएर भारत पुर्याउने गरिन्छ।
नेपालगञ्जबाट चरेश र भारतबाट ब्राउनसुगर भित्रिने गर्दछ। नेपालगञ्ज लागु पदार्थको ‘केन्द्रविन्दु’ भएपछि प्रहरीले उच्च प्राथमिकताका साथ छुट्टै टोली नै खटाएर लागु पदार्थविरुद्ध कारबाही अभियान चलाइरहेको छ।
चरेश बोकेर भारतमा पुग्दा पक्राउ परेका नेपालीले भारतस्थित बहराइच जेल र ब्राउनसुगर बोकेर नेपाल आएका भारतीयले नेपालगञ्जस्थित केन्द्रीय कारागार शाखा भरिँदै गएका छन्। सीमावर्ती भारतीय बजारमा सहजै ब्राउनसुगर पाउने भएकाले नेपालमा लागु पदार्थको कारोबार बढेको छ। भारतीय प्रहरीले खासै कडाइ गरेको पाइँदैन। नेपाल प्रहरीले भने भारततिर जाने र आउने दुवैमा निगरानी गर्छ।