नेपालगञ्ज – मुगु घर भई काठमाडौंमा बस्दै आएकी सुमन सुनारलाई मोबाइलमा म्यासेज आयो, ‘तपाईलाई चिठ्ठामा कार परेको छ।’
खुशीले फुरुंग भएकी सुनारकोे म्यासेज पठाउनेसँग हिमचिम बढ्यो।
भाइबरमा कुरा हुन थाले। कारको फोटोसमेत पठाइयो। सुनारलाई विश्वासमा लिइयो। त्यसपछि करवापतको रकम पठाइदिन भनियो।
विभिन्न व्यक्तिको नाममा सुनारले करवापतको पैसा आइएमइमार्फत पठाउन थालिन्। ३ लाख ३५ हजार र ७० हजार रुपैयाँ पठाइन्।
कपिलबस्तुका गणेश घिमिरेलाई पनि त्यसैगरी २५ लाख रुपैयाको चिठ्ठा परेको भनेर म्यासेज पठाइयो। भाइबरमा कुरा गरेर विश्वासमा लिने काम भयो। करवापत भनेर ५५ हजार रुपैयाँ पठाउन लगाइयो।
घिमिरेले चन्द्रौटास्थित प्रहरीलाई खबर गरेपछि चिठ्ठा काण्ड बाहिर आएको छ। विभिन्न ठाउँका मानिसहरुलाई चिठ्ठा पर्यो भन्दै करवापतको पैसा नेपालगञ्जको प्रभु आइएमईमा पठाउन भनिएको थियो। बाँके प्रहरीले एकजना भारतीयसहित चार जनालाई पक्राउ गरेपछि चिठ्ठा काण्डको पर्दाफास भएको छ।
भारत लखनऊका अब्बु सैफ खान, नेपालगञ्जका अकिव इद्रिसी, मो. फाहाद हलुवाई र अमिरबाबु कसगर पक्राउ परेका छन्। बाँके प्रहरीले चारै जनालाई ठगीमा मुद्दा चलाएको छ। पीडितको उजुरी नआउँदासम्म यिनीहरुलाई सार्वजनिक मुद्दा लगाइएको थियो।
चिठ्ठा पर्यो भन्दै एकजनासँग करवापतको दश लाख रुपैयासम्म असुल गरिएको बाँके प्रहरीले जनाएको छ। कार परेको भ्रममा परेकी सुनारले विभिन्न व्यक्तिको नाममा १० लाख रुपैयाँ आइएमई गरेको प्रहरीले बताएको छ।
नेपालगञ्जको प्रभु आइएमईबाट एक पटक ३ लाख ३५ हजार र एकपटक ५५ हजार रुपैयाँ झिकिएको छ। ७० हजार रुपैयाँ भने नाम नमिलेर झिक्न पाएका थिएनन्।
चिठ्ठा काण्डमा धेरै जना नेपाली ठगिएको प्रहरीले आकलन गरेको छ। अहिलेसम्म दुई जनाको मात्रै जाहेरी आएको छ। ठगहरुले ‘डिडी कम्पनी’ को हौं भन्ने गरेका थिए। बाँके प्रहरीले पक्राउ परेका व्यक्तिको मोबाइल र उनीहरुको बयानका आधारमा अनुसन्धान गर्दै जाँदा मुख्य मान्छे पाकिस्तानी रहेको खुलेको छ।
‘पाकिस्तानी र भारतीय मिलेर नेपालमा यस्तो धन्दा चलाएका रहेछन्, बाँके प्रहरीका मुद्दाफाँट इन्चार्ज रणबहादुर विष्टले भने, यिनीहरुको नेपालमा खाता या पैसा झिक्ने माध्यम नभएपछि नेपालीहरुलाई प्रयोग गरेका थिए।’
बाँकेकै व्यक्ति ठगिएको थाहा भएको छैन । अन्यत्र जिल्लाका व्यक्तिलाई चिठ्ठा पर्यो भन्दै विश्वासमा पारेर नेपालगञ्जका बैंकमा पैसा पठाउन भनिएको पाइएको छ । ‘चिठ्ठा पर्यो भन्ने र करवापतको शुरुवाती रकम माग गरेर बेपत्ता हुने धन्दा देखियो, विष्टले भने, अनुसन्धान गर्दैछौं, यिनीहरुले धेरैलाई ठगेको हुन सक्छ।’

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































