
काठमाडौ- प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय लैनचौरस्थित शहीद स्मारकमा पुगी शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका हुन।
बिहान ८ बजे शान्तिबाटिका रत्नपार्कबाट सुरु भएको प्रभातफेरि प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।
कार्यक्रममा रक्षामन्त्री, कामपाका प्रमुख, उपप्रमुख र वडाध्यक्षलगायतको सहभागिता थियो। सभाका एक सहभागी रेश्मा शाक्यले जुन कारणले शहीदले आफ्नो शरीरलाई बलिदान गरे त्यस किसिमको भावना बुझ्न नसकेसम्म उनीहरुप्रतिको सच्चा सम्मान नहुने बताए।
शहीद सप्ताहअन्तर्गत माघ १० गते टेकु खरीबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलिसभाबाट कार्यक्रमको थालनी भएको थियो। त्यस्तै माघ १३ गते धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा तथा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिएको थियो।
विसं १९९७ मा शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, माथेमालाई सिफलमा तथा माघ १३ गते र श्रेष्ठ एवं चन्दलाई माघ १५ गते शोभाभगवतीमा नागरिक आवाज उठाएवापत राणाशासकले मृत्युदण्ड दिएको थियो।
तस्बिरहरु- सुलभ श्रेष्ठ/ देश सञ्चार