
काठमाडौैं – नामिबियामा भइरहेको आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिज टू अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आइतबार युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे हुनेछ । नेपालले यसअघिका दुई खेलमा एक जित र एक हारको नतिजा निकालेको छ ।
नेपालले पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो ।
युएईले पनि दुई खेलमाम एक जित र एक हारको नजिता निकालेको छ । पहिलो खेलमा केन्यालाई दुई सय १८ रनले पराजित भएको युएई दोस्रो खेलमा क्यानडासँग २३ रनले निराश भएको थियो ।
युएईले केन्याविरुद्ध तीन सय नौ र क्यानडाविरुद्ध एक सय ८६ रन बनाएको थियो । प्रतियोगितामा युएईको ब्याटिङ राम्रो देखिएको छ ।
नेपालको ब्याटिङ भने निकै कमजोर छ । नामिबियाविरुद्ध एक सय ३९ रनको लक्ष्य पछ्याएको हम्महम्मे परेको नेपाल दोस्रो खेलमा पहिला ब्याटिङ गर्दै एक सय ३८ रनमा अलआउट भएको थियो ।
दुवै एसियाका टोली भएकाले लामो समयदेखि एकअर्कासँग परिचित छन् । केही महिनाअघि आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत यी दुुई टोलीबिच भएको दुई खेलमा दुवै युएईले जितेको थियो ।
युएई सन् २०१५ को एकदिवसीय विश्वकप खेलेको टोली हो । तर गएको आइसिसी लिग च्याम्पियनसिपमा कमजोर प्रदर्शन गरेको युएई सहभागी आठ टोलीमध्ये छैटौं स्थानमा रहेको थियो ।