
काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू क्रिकेट अन्तर्गत अाफ्नाे पाँचौं तथा अन्तिम खेलमा नेपाल अहिले क्यानडासँग भिडिरहेकाे छ।
टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको नेपालविरुद्ध क्यानडाले ४५ अाेभरमा ७ विकेट गुमाएर एक सय ६३ रन जाेडेकाे छ।
बसन्त रेग्मीले तीन र सन्दिप लामिछानेले दुई विकेट लिए। करन केसी र शरद भेषावकरले एक एक विकेट हात पारे।
शरद भेषावकरले छैटौं विकेटका रुपमा साद बिन जाफरलाई १० रनमा अाउट गरे। क्यानडाको सातौं विकेट भने रनअाउट भएको थियो। आठौं विकेटका रुपमा बसन्तले क्यानडाका ब्याट्सम्यानलाई शुन्यमा अाउट गरे।
अाेपनर विजेरत्ना ९० रनमा खेलिरहेका छन्।
क्यानडाले एक सय ३१ रन जाेड्दा करनले पाँचाै विकेटका रुपमा विकेटकिपर हाम्जा तारिकलाई २४ रन अाउट गरेका थिए। विजेरत्ना र तारिकबीच पाँचौं विकेटका लागि ४१ रनकाे साझेदारी भएकाे थियाे। विजेरत्नाले एक सय ४० बलमा सात चौका प्रहार गरेका छन्।
क्यानडाले ४६ रन जाेड्दा बसन्तले आफ्नाे पहिलाे अाेभरकाे दाेस्राे बलमा विकेट लिएका थिए । रुविन्दु गुनसेकेरा नाै रनमा अाउट भए। क्यानडाले ५७ रन जाेड्दा सन्दिप लामिछानेले कप्तान नितिस कुमारलाई पाँच रनमा अाउट गरे।
सन्दीपकाे याे दाेस्राे अाेभर थियाे। क्यानडाले ६७ रन जाेड्दा सन्दिपले पाथिरानालाई दुई रनमा अाउट गरे। सन्दिपकाे याे चौथाे अाेभर थियाे। क्यानडाले ९० रन जाेड्दा बसन्तले धालिवाललाई ब्यक्तिगत चार रनमा अाउट गरे।
सन्दीपले प्रतियोगितामा १६ विकेट लिईसकेका छन्। सन्दीपले क्यानडाविरुद्ध सात अाेभरमा एक मेडन राखेर २९ रन खर्चिएका छन्। सुरुकाे पाँच अाेभरमा केवल ७ रन खर्चिएका सन्दीप छैटौं अाेभरम महँगाे बनेका थिए। पारसले सात आेभरमा १६ रन खर्चिएका छन्। बसन्तले सात आेभरमा २६ रन दिएका छन्। सोमपालले सात आेभरमा एक मेडन राखेर २५ रन दिएका छन्।
विश्वकप छनौट खेल्न नेपालले क्यानडालाई हराउनै पर्ने छ। ६ टाेली सहभागी प्रतियाेगिताकाे शीर्ष दुई टाेली एकदिवशिय विश्वकपकाे विश्वस्तरकाे छनाेटमा पुग्नेछन्। तालिकामा नेपाल ६ अंकसहित तेस्राे स्थानमा छ। क्यानडा र नामिबियाकाे पनि समान ६ अंक भएपनि नेटरनरेटमा दुवै टाेली नेपालभन्दा अगाडि छन्।
अर्काे खेलमा नामिबियाले यूएईकाे सामना गरिरहेकाे छ।
डिभिजन टू को शीर्ष दुई स्थानमा रहने टोली वर्ल्डकप क्वालिफायरमा छनौट हुनेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टू मै यथावत रहनेछन् ।
पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएकाे नेपाल दाेस्राे खेलमा अाेमानसँग ६ विकेटले पराजित भएकाे थियाे। नेपालले तेस्राे खेलमा यूएईलाई चार विकेट र चौथाे खेलमा केन्यालाई तीन विकेटले हराएकाे थियाे। सुरुका तीन खेल जितेकाे क्यानडा चौथाे खेलमा नामिबियासँग पराजित भएकाे थियाे।