
नेपालगञ्ज – नेपालगञ्जमा भब्यताका साथ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ।
मुलुकले नयाँ प्रधानमन्त्री पाएकै दिन नेपालगञ्ज रंगशालाको कभर्ड हलमा सुरु भएको पाँचौं अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा न्यू डायमण्डले नेपाल प्रहरी र एपिएफले बंगलादेशको इफान ग्रुप महिला भलिबल टोलीलाई सोझो सेटमा हराएका छन्।
न्यू डायमण्डले नेपाल प्रहरीलाई २५–१९, २५–१४ र २७–२५ अंकले हराएको थियो। अर्को खेलमा एपिएफले एकतर्फी गरेको थियो। एपिएफले बंगलादेशी क्लबलाई २५–९, २५–७ र २५–११ मा पराजित गरेको थियो।
दक्षिण एशियाली स्तरीय बन्दै गएको प्रधानमन्त्री कपको उद्घाटन सांसद नन्दलाल रोकाय तथा मिस नेपाल एवं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताकी सद्भावना दूत निकिता चन्दकलगायतले गरे। नेपाल भलिबल टीमकी कप्तान एवं एपिएफकी कप्तान विनिता बुढाथोकीलाई बल दिएर उद्घाटन गरिएको थियो।
उक्त अवसरमा मिस नेपाल एवं प्रतियोगिताकी सद्भावना दूत चन्दकले भनिन्, ‘भलिबल राष्ट्रिय खेलमात्रै नभई हिउँ पर्ने लेकदेखि पहाड हुँदै तराईसम्म खेलिने खेल हो। त्यस हिसाबले भलिबल हिमाल, पहाड र तराई जोड्न् सद्भावपूर्ण खेल पनि हो। प्रधानमन्त्री कपले त्यो दायरालाई अझै फराकिलो बनाउदै दक्षिण एशियास्तरीय बनाउँदैछ।’
सांसद रोकायले प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताले नेपालगञ्जलाई चिनाउने काम गरेको बताए। नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा, जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले प्रतियोगिता वर्षेनी फराकिलो हुँदै गएको बताए।
प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी सात वटा टीम सहभागी छन्। प्रतियोगितामा आयोजक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पश्चिमाञ्चल, न्यू डायमण्ड, भारत र बंगलादेशको टीम सहभागी छन्।
लिग कम नकआउटका आधारमा खेलाइएको प्रतियोगिताको बिजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रोले ५० हजार पाउने छन्।
प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल मोफसलको ठूलो धनराशीको प्रतियोगिता मानिन्छ । नेपालगञ्ज निवासी कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा यो प्रतियोगिता शुरु गरिएको हो ।
तस्बिरहरु: कुमार श्रेष्ठ