
काठमाडौँ- नेपाली कांग्रेसका नेता गगन थापाले आफूमाथिको बम आक्रमणबाट कत्ति पनि विचलित नभएको तर यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
राजधानीको चपलीमा चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गरिरहेका बेला भएको विस्फोटमा आफूसहित अन्य ११ जना कार्यकर्ता घाइते भएपछि आक्रोशित र निराशसमेत बनेका थापाले भने, ‘यो घटनापछि हाम्रो सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठाएको छ। काठमाडौमै त्यो पनि खुल्ला ठाउँमा हुने यस्तो घटनाले भयको वातावरण सिर्जना गर्छ।’
थापाले आफूहरुसँगै मतदातालाई सुरक्षाको अनुभूति गराउन सरकारलाई आग्रह गरेका छन्। थापा सोमबारै त्रिवि शिक्षण अस्पतालमा उपचार गराई डिस्चार्ज भएका छन्। उनको टाउकोमा सामान्य चोट लागेको छ। अन्य गम्भीर चार जना कार्यकर्ताको भने त्रिवि शिक्षण अस्पतालमै उपचार भइरहेको छ। थापाले यो बेलामा कत्ति पनि विचलित नहुन कार्यकर्ता, समर्थक र मतदातालाई आग्रहसमेत गरेका छन्।
उनले भने, ‘मतदातालाई यो घटनाबाट त्रसित भएर सही व्यक्तिलाई मतदान गर्ने अघिबाट पछि नहट्न म आग्रह गर्छु। हामी पछि हट्यौँ भने झन् हिंसाको राजनीति गर्नेलाई बल पुग्ने छ।’
थापाले हिँड्न ढिलो भयो भन्दै आफू दश कदम अघि बढेका बेला बम विस्फोट भएको र आफूभन्दा पछि रहेका साथीहरुलाई गम्भीर चोट लागेको बताए। यो घटनाले आफूहरुको कार्यक्रम कहाँ र कति बजे हुँदैछ भन्ने जानकारीसहित योजनाबद्ध तरिकाले बम बिस्फोट गराएको उनको भनाइ छ। उनले आफ्ना सम्पूर्ण घाइते साथीको तीव्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।