केन्द्रीय नेताको भविष्य संकटमा

+
-

धनुषा- मंसिर २१ गतेको चुनाव आउन चार दिन बाँकी रहँदा धनुषाका उम्मेदवार मत माग्‍न सहर केन्द्रित हुन थालेका छन्। एक चरण गाउँस्तरीय चुनावीसभा र अर्को चरणमा घरदैलो अभियान सकेका उम्मेदवार सदरमुकामलगायत आफ्नो चुनावी क्षेत्रका मुख्य सहर बजारमा भोट माग्न केन्द्रित हुन थालेका हुन्।

मौन अवधि शुरु हुनु ३६ घण्टा बाँकी रहँदा सबै दलका उम्मेदवार बजार क्षेत्रका मतदाताको मन जित्‍न ‘रोड-शो’ गरी शक्ति प्रदर्शन, घरदैलो र प्रचारप्रसारका गतिविधिलाई तीव्र गति दिएका छन्। गाउँतिर फराकिलो भूगोल भए पनि मतदाता कम हुने भएकाले चुनावको अन्तिम समयलाई बढी उपलब्धिमूलक बनाउन उम्मेदवारलाई बजार केन्द्रित गराइएको पार्टीले जनाएका छन्।

चुनावी प्रचार अभियानलाई तीव्र गति दिने क्रम काँग्रेस, वाम र मेधशी गठबन्धन तीनवटैले धनुषाको प्रमुख शहर बजार केन्द्रमा केन्द्रीयस्तरका नेता ल्याएर आमसभा आयोजना गरी सुरुवात गरेका छन्। आफ्नो क्षेत्रका सबै पार्टीका उम्मेदवार सहर बजार केन्द्रित भोट मागिरहेको देखिएको छ। सदरमुकाम जनकपुर उपमहानगरपालिका,क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर, मिथिला नगरपालिकाको ढल्केवर, गणेशमान चारनाथ नपाको वीरेन्द्रबजार, धनुषाधाम नपाको धनुषाधाम, सबैला नपाको सबैला बजार, नगराइन नपाको फुलगामालगायतका बजारमा बिहानदेखि अबेर रातिसम्म उम्मेदवारहरू घरदैलो गरिरहेका भेटिन्छन् ।

प्रतिनिधिसभा सदस्यका लागि धनुषा निर्वाचन क्षेत्र नं १ बाट वाम गठबन्धनका तर्फबाट माओवादी नेता मातृकाप्रसाद यादव प्रत्यक्ष चुनावी मैदानमा पहिलोपटक उत्रेका छन् ।त्यस्तै नेपाली काँग्रेसका तर्फबाट सोही क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आनन्द ढुंगानाले उम्मेदवारी दिएका छन् भने फोरम राजपा गठबन्धनबाट फोरमका दीपक कार्कीले उम्मेदवारी दिएका छन्। कार्की हालै मात्रै काँग्रेस परित्याग गरी फोरम प्रवेश गरेका हुन् ।

काँग्रेस नेता आनन्दप्रसाद ढुंगाना धनुषाबाट दुईपटक सांसद भइसकेका छ भने एकपटक पराजित भएको थियो । उनलाई काँग्रेसले दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद् बनाएको थियो । ढुंगानालाई धनुषा १ मा कडा टक्कर दिइरहेका माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव पहिलोपटक चुनाव लड्दै छन्। पहिलो संविधानसभाको चुनावमा उनलाई माओवादीले समानुपातिकबाट सभासद् बनाएको थियो । माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि उनले कार्यकाल पूरा गर्नुअघि नै सभासद्बाट राजीनामा दिएका थिए।

निर्वाचन क्षेत्र नं २ मा पनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने स्थिति देखिएको छ। नेपाली काँग्रेस, वाम गठबन्धन र मधेशवादी गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरमबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । नेपाली काँग्रेसबाट रामकृष्ण यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता रामचन्द्र झा र संघीय समाजवादी फोरमबाट उमाशंकर अरगडियाबीच कडा प्रतिस्पर्धा हुने स्थिति रहेको छ । काँग्रेस नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं २ बाट दुईपटक लगातार निर्वाचित भइसकेका छन्। पहिलोपटक सभासद् बनेपछि लेखासमितिको संयोजकसमेत हुने यादव अहिले कृषिमन्त्रीसमेत हुन् ।

सोही क्षेत्रबाट आफ्नो भविष्य खोजिरहेका माओवादी नेता रामचन्द्र झा पनि दुईपटक सांसद बनिसेका छन्। पहिलो संविधानसभाको चुनावमा एमालेबाट जित्नुभएको झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेका थियो तर दोस्रो चुनावमा उनी पराजित भए। झा प्रचण्ड नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भइसकेका छन्। यादव र झाबीच सो क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ ।

धनुषा ३ मा नेपाली काँग्रेसका प्रभावशाली नेता बिमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा देखिएको छ । वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका रामसिंह यादवको उम्मेदवारी परे पनि तुलनात्मक रूपमा कमजोर उम्मेदवारका रूपमा आंकलन गरिएको छ।

धनुषा ३ बाट विमलेन्द्र निधि लगातार दुईपटक जित्न सफल भएको छ । एकपटक धनुषा ४ बाट उनी विजय भएका थिए। धनुषा ४ मा कृष्णप्रताप मल्लसँग पराजित भएपछि उनी क्षेत्र परिवर्तन गरेका थिए। निधि धनुषाबाट सबैभन्दा बढीपटक मन्त्री भएका नेता हुन्। पछिल्लोपटक सडक निर्माण कार्यमा उनले निकै प्रशंसा बटुलेका थिए। सो क्षेत्रमा विकास पुरुषका रूपमा उहाँलाई स्थानीयवासीले प्रचारप्रसार गरिरहेका छन । तर प्रत्येक वर्ष उहाँको जितको मार्जिन घट्दै जानु पनि चिन्ताको विषय बनेको छ।

पहिलो संविधानसभाको चुनावमा एमाले नेता हरिदेव मण्डलसँग करिब दुई हजारको मतान्तरले विजय भएका निधि २०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेकी जुली महासेठसँग एक हजार ४९३ मतको मतान्तरले विजयी भएका थिए ।यस सपालिको चुनावमा वामपन्थी गठबन्धनले कमजोर उम्मेदवारलाई उठाएको मतदाता बताउँछन् ।

रामसिंह यादव सो क्षेत्रका लागि नयाँ अनुहार मात्रै होइन, जनताको प्रत्यक्ष राजनीतिमा समेत नौलो अनुहार मानिन्छन्। स्रोतका अनुसार रघुवीर महासेठ र राजेन्द्र महतोबीच गठबन्धन देखिएको छ । महासेठले नेता महतोलाई सहयोग गर्ने आन्तरिक तयारी भइरहेको बताइएको छ । महतो सर्लाहीमा जित्न सक्ने अवस्था नदेखिएपछि धनुषा आउनुभएको अन्य दलले आरोप लगाएका छन् ।

महतोलाई जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अलोकप्रियताले पनि समस्या गरिरहेको छ भने सञ्जय साहका नजिकका व्यक्तिले पनि निधिको पक्षमा भोट मागिरहेकाले विजय हात पार्न धेरै नै कसरत गर्नुपर्ने हुनसक्छ । महतो धनुषामा पहिलोपटक चुनाव लड्न आए पनि सर्लाहीबाट दुईपटक सांसद भइसक्नुभएको छ भने दुईपटक सो जिल्लाबाट पराजित हुनुभएको थियो ।

दोस्रो संविधानसभा चुनावमा पराजित भएपछि महतो जिल्ला छोड्ने मानसिकता बनाएका थिए। कयौँपटक उनी पनि मन्त्री भइसकेका छन्। क्षेत्र नं ४ मा काँग्रेसबाट महेन्द्र यादव र वाम गठबन्धनबाट एमालेका रघुवीर महासेठबीच मुख्य प्रतिस्पर्धा रहेको छ । यद्यपि मधेशी गठबन्धनका तर्फबाट महाजन यादवको पनि जोड देखिएको छ । धनुषा ४ बाट खानेपानी मन्त्री एवं काँग्रेस नेता महेन्द्र यादव र एमाले नेता रघुवीर महासेठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यादव पहिलोपटक संसद्मा चुनाव लड्दै छन्। पहिलो र दोस्रो संविधानसभा चुनावमा उनलाई समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गराइएको थियो । यादव तरुण दलको केन्द्रीय अध्यक्षसमेत भइसक्नुभएको छ । एमाले नेता रघुवीर महासेठ धनुषाबाट एकपटक सांसद भएका छन्। राष्ट्रपतिमा डा रामवरण यादव चुनिएपछि उनी खाली भएको सिटमा भएको उपचुनावमा महासेठले नै बाजी मार्न सफल भएका थिए।

दोस्रो संविधानसभा चुनावमा महासेठलाई पराजित हुनु परेको थियो । महासेठ एकपटक मन्त्रीसमेत भइसकेका छन्। धनुषामा कूल ३८ लाख ९३ हजार ८६ मतदाता रहेकामा पुरुष २० लाख २८ हजार ८९, महिला १८ लाख ६४ हजार ९१ र तेस्रोलिंगी ६ जना रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?