
काठमाडौँ- प्रकृतिपूजक किराँत जातिले भूमिबाट उब्जनी भएको अन्नबाली भूमिलाई नै अर्पण र पूजा गरी मनाइने उँधौली पर्व आज मनाइएको छ ।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व किराँत, राई, याक्खा र सुनुवार जातिले राष्ट्रिय चाडका रूपमा मनाउने किराँत याक्थुङ चुम्लुङले जनाएको छ।
‘प्रकृतिको वरदानस्वरुप भूमिबाट उब्जनी भएको अन्न बाली पहिले प्रकृतिलाई नै अर्पण गरेर मानिसले खाने परम्परास्वरुप यो पर्व मनाउने गरिएको हो, यस पर्वलाई उँधौली र बाली लगाउनुअघि वैशाख महिनाको पूर्णिमामा प्रकृतिको पूजा गरी मनाइने पर्वलाई उँभौली भनिन्छ’, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङ्देनले भने।
यस पर्वलाई विसं २०५० देखि बृहत्रूपमा मनाउन थालिएको उनले बताए। विसं २०६४ पछि सरकारले मार्गशीर्ष शुक्ल पूर्णिमाको दिनलाई उँधौली पर्वका रूपमा सार्वजनिक बिदा दिन थालेपछि पहिचानसहित रौनकता बढेको किराँत धर्मावलम्बीले जनाएका छन् । यो पर्व विशेष गरी किराँत जातिको बाहुल्यता रहेको नेपालका पूर्वी जिल्ला र उपत्यकामा बसोबास गर्नेले मनाउने गर्छन् ।
यो पनि हेर्नुहोस्: