
बिर्तामोड- ठूला दलहरुका उम्मेदवार चिल्ला सवारी साधनहरुमा चढेर आफ्ना चुनावी अभियान चलाइरहेका बेला विवेकशील साझा पार्टीका उम्मेदवारहरु भने ई-रिक्सामा चढेर चुनावमा भोट मागिरहेका छन्।
झापा क्षेत्र नं २ बाट प्रतिनिधि सभाका उम्मेदवार डा. नविन बाँस्तोलाले आफ्नो दलको फरक शैली र फजुल खर्च गर्नु हुँदैन भन्ने सन्देश बोकेर आफूहरु चुनावी अभियानमा लागिपरेको बताए । उनले भने, ‘हामी बीस हजार रुपैयाँमा सबै खर्च पुर्याउने सोचमा छौं । त्यसैले सस्तो सवारी साधन प्रयोग गरेर चुनावमा होमिएका छौं ।’
विवेकशील साझा पार्टीले अन्य दलको भन्दा फरक शैलीमा चुनाव प्रचार प्रसार सुरु गरेको हो । मतदाताको घरै पुगेर मत माग्दै आएको वीवेकशिल साझा पार्टीले बजारका चोकमा स्टलसमेत राखेर मत माग्दै आएको छ ।
‘हामीले स्टल राखेका ठाँउमा मतदाताको भिड लाग्छ, विवेकशील साझा पार्टीले अघि सारेको नीति मन परेका मतदाता थुप्रैको मन जितेका छौ,’ झापाको क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभाको लागि उम्मेद्धार बनेका डा. बाँस्तोलाले भने, ‘हाम्रो पार्टीमा धेरैको आकर्षण बढेर गएको छ ।’
‘हामीलाई समय अलि कम भयो, फेरि हामी नयाँ पार्टी पनि हौं,’ बाँस्तोलाले भने, ‘अन्य दलले समृद्धिका लागि केही गर्न सक्दैनन् भन्ने धेरै मतदाताको गुनासो पाइएको छ। हामीले आर्थिक समृद्धिका लागि अघि सारेको दृष्टिकोणले मतदाता उत्साहित रहेको पाइयो ।’
बिवेकशील साझा पार्टीले झापाको १ नम्बर क्षेत्र बाहेक अन्य ४ वटै क्षेत्रमा प्रदेश र प्रतिनिधिसभाको लागि उम्मेद्धारी दिएको छ । यो चुनावमा स्थापित हुने र अर्को चुनावमा जित्न सक्ने सम्मको रणनीति बिवेकशीलले अघि सारेको छ।