 
                            विराटनगर-विहीबार हुने प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो तह निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। मंगलबार मध्यरातबाट सुरु भएको मौन अवधिमा राजनीतिक दलका नेता कार्यकर्ता नियमित कार्यक्रमभन्दा फरक शैलीमा देखिएका छन्। मौन अवधिमा भोट माग्न नपाइने, प्रचारप्रसार गर्न नहुने, निर्वाचन आचारसंहिता बुझेका उम्मेद्वारहरु अन्यदिन भन्दा व्यस्त देखिएका छन्। उनीहरु बिहानैबाट अनौपचारिक भेटघाटमा व्यस्त बनेका छन्।
क्षेत्रीय निर्वाचन कार्यालय मोरङले क्षेत्र नम्बर ६ का बामगठबन्धनका उम्मेदवार लालबाबु पण्डितमाथि आचारसंहिता उल्लंघन भएको उजुरी परेको उल्लेख गरेको छ। कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलद्धारा हस्ताक्षरित उजुरी पत्रमा मौनअवधिमा आचारसंहिता पालना नभएको भनी कडा प्रस्तुतिकरणका साथ उजुरी आएको उल्लेख छ। बामगठबन्धनका उम्मेदवार पण्डित विहान वडा नम्बर ९ मा १४/१५ जनाको कार्यकर्तासहित भोट माग्दै हिँडेको उजुरीमा उल्लेख छ। कांग्रेस जिल्ला सचिव नागेश कोइरालाले उजुरी गरेका हुन् ।
सचिव कोइरालाले देशसञ्चारसँग भने, ‘मौन अवधिमा बिहानै निर्वाचन आचारसंहिता विपरीत उम्मेद्वार पण्डितलाई भोट माग्दै गरेको भेट्यौं र तत्कालै निर्वाचन कार्यालयमा उजुरी गर्यौँ ।’
पण्डितका स्वकीय सचिव वासिम आलमले भने उक्त आरोप झुटा भएको बताए। ‘जन्मदिनको अवसरमा स्थानीय पशुपति भगतको घरमा चिया खान पुगेका हौँ, हामी नियमविपरीत हिडेका छैनौं। कांग्रेस नेताहरु पण्डितको लहरसँग त्रसित हुनुभएको मात्र हो ।’
औपचारिक कार्यक्रम कतै नभएको उल्लेख गर्दै आलमले उम्मेदवार पण्डित मंगलबार दिनभरि कार्यकर्ता, बुथ एजेन्टसँग भेटघाटमा व्यस्त रहने छन्। उनका अनुसार पण्डित पार्टी कार्यालयमा निकटस्थहरुसँग छलफलमा रहने छन्। कांग्रेस उम्मेदवार डा. शेखर कोइरालाको दिनचर्या पनि मंगलबार व्यस्त रहेको कोइराला निवासले जनाएको छ। बिहानदेखि डा. कोइराला कार्यकर्ता भेटमा छन्।
क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार महेश आचार्य पनि भेटघाटमा व्यस्त छन्। नगरको सडकमा टाँसिएका विभिन्न दलका प्रचारप्रसारका सामग्री हटाउन समेत क्षेत्रीय निर्वाचन कार्यालय मोरङले सम्बन्धित दलहरुलाई पत्र काटेको छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































