संचार संवाददाता
झापा- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला निर्वाचन कार्यालय झापाबाट निर्वाचित प्रमाणपत्र लिएका छन्। ओली झापा-५ बाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई करिब ३० हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए।
ओलीले प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै प्रतिपक्षलाई सहमतिमा लिई काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले लोकतन्त्रका आधारभूत मुल्य मान्यता सँग कसै सँग पनि सम्झौता नगर्ने बताए।
नेपाली कांग्रेसले बाम गठबन्धनको सरकार आए लोकतन्त्र समाप्त हुने आरोप लगाउँदै आएकोछ।
ओलीले देशमा कुनै पनि नामको अधिनायकवाद आउन नसक्ने भन्दै जनतालाई त्रसित नहुन आग्रह गरेका थिए।
ओलीले अब राजनीतिक आन्दोलन सकिएको भन्दै विकासको कामलाई कसैले रोक्ने नसक्ने तर्क गरे।
झापा जिल्लाबाट प्रतिनिधि र प्रदेश सभाबाट निर्वाचित बाम गठबन्धनका उम्मेदवारहरुलाई जनताका काममा लाग्न ओलीले निर्देशन दिएका थिए।
बाम गठबन्धनले देश भरिबाट बहुमत ल्याउने निश्चित भए पछि ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा हेरिएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































