काठमाडौं- निर्वाचन परिणामले बाम गठबन्धनको स्थिर सरकार बन्न सक्ने सम्भावना देखाउँदा पनि सेयर बजार ओरालो लागेको छ।
निर्वाचनको मत परिणामले एमालेको ग्राफ बढ्दै गर्दा नेप्से परिसूचकमा भने गिरावट आएको हो।
दोस्रो चरण निर्वाचनको अघिल्लो दिन १५३६.५४ अंक रहेको नेप्से परिसूचक गत बिहीबार १५२०.१५ अंकमा पुगेको छ।
यस साता १६.३९ अंकले परिसूचक ओरालो लाग्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्था रहेको सेयर बजारका जानकारहरुले बताएका छन्।
पूर्वबैंकर एवम् सेयर बजार विश्लेषक अनलराज भट्टराई मार्जिन कलको रेसियो बढ्दा लगानीकर्तालाई बिक्री दबाब बढेको बताउँछन्।
एक बैंकरले देश सञ्चारसँग भने, ‘सरकारले आन्तरिक ऋण उठाएको छ तर पुँजीगत खर्च भने बढ्न नसक्दा बजारमा तरलताको अभाव हुन सक्ने लक्षण देखिएकाले पनि बैंकहरुले मार्जिन कलमा कडाइ गरेका हुन्।’ उनी भन्छन्, ‘यदि नयाँ बन्ने सरकारले पुँजीगत खर्च मात्रै बढाउन सक्ने हो भने ब्याजदर घट्ने सम्भावना रहन्छ।’
स्थिर सरकार बन्ने सम्भावना हुँदा पनि सरकारको नीति र प्राथमिकता के हुने भन्ने थाहा नभएकाले पनि लगानीकर्ताको मनोबल बढ्न नसकेको भट्टराईले बताए।
बजारमा बिक्री भन्दा खरिद चाप रहेकाले बजार घट्ने सम्भावना भने नरहेको एक ब्रोकर बताउँछन्। उनले भने, ‘बाम गठबन्धनको सरकार बन्ने सम्भावनाले एक थरी लगानीकर्ताहरु निकै उत्साहित भएको र केही लगानीकर्ताहरुमा त्रासको वातावरण देखिएको छ। कम्युनिष्ट सरकारले सम्पति सम्बन्धी कानुन परिमार्जन गर्छ कि भन्ने मनोवैज्ञानिक डर पनि लगानीकर्तामा देखिएको उनले बताए। सकारात्मक भन्दा नकारात्मक सेन्टिमेन्टले काम गर्दा बजार केही तल झरेको उनको तर्क रहेको छ। सरकार बने पनि सरकारले लिने नीतिअनुरुप बजार अगाडि बढ्ने उनले बताए।
सेयर लगानीकर्तासँगका अध्यक्ष उत्तम अर्याल पनि लगानीकर्तामा मनोवैज्ञानिक त्रास रहेको बताउँछन्। उनी भन्छन्, ‘अर्थमन्त्री को हुने, नयाँ सरकारको प्राथमिकतामा पुँजी बजार पर्ने कि नपर्ने लगायतका लगानीकर्ताका चासो छन्। सरकार निर्माणपछि लगानीकर्ताको चाहना बमोजिम नीति तथा कार्यक्रम आए बजार घट्ने सम्भावना छैन,’ अर्यालले भने।
यस साता घटेको बजारमा २ अर्ब ९२ करोड ८३ लाख रुपैयाँको कारोबार हुँदा ५७ लाख ९५ हजार ७ सय ३० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। स्ट्यान्डर्ड चाटर्ड बैंक सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी हुँदा सत्ताभारमा ग्लोबल आईएमीबैंकको सबैभन्दा बढी कित्ता सेयर खरिदबिक्री भयो।