काठमाडौँ-प्राय: शास्त्रीय नृत्य भन्नासाथ कत्थक र भरत नाट्यम सोचिन्छ। भारतीय शास्त्रीय नृत्यका कार्यक्रममा पनि यही नृत्यहरु नै बढी प्रस्तुत हुन्छन्। शास्त्रीय गायनको जति धेरै हाँगा हुन्छन्, शास्त्रीय नृत्यको दायरा पनि त्यति नै वृहत् छ।
कालिकास्थानस्थित सर्वनाम थिएटरमा अयोजित चौथो अन्तर्राष्ट्रिय नृत्य तथा संगीत महोत्सवमा भारतका विभिन्न राज्यका शास्त्रीय तथा लोक नृत्य प्रस्तुत भए। कार्यक्रममा भरत नाट्यम र कत्थकको बर्चश्व भए पनि अरु शास्त्रीय नृत्य पनि प्रस्तुत भए। नेपाली दर्शकका लागि ओडिसी, कुचीपुडी शास्त्रीय नृत्यको स्वाद नौलो थियो।
शनिबार सुरु भएको महोत्सवको दोस्रो दिन आइतबार आन्ध प्रदेशस्थित श्री निर्मला नृत्य निकेतनका छात्राहरुको प्रस्तुतिले दर्शकलाई एकैछिन पनि मञ्चबाट आँखा हटाउन दिएन। शिरमा कलश, कलशमाथि दियो, दुवै हातमा दियो, चरेसको थालको बीटमा दुइ पैताला अड्याएर छम छम घुँघरुको आवाज निकाल्दै छ जना नृत्यांगनाले कृष्णगाथाका भावहरु प्रस्तुत गरे।
यो भारतको आठ मुख्य शास्त्रीय नृत्य अन्तर्गतको कुचीपुडी नृत्य थियो । वैष्णव परम्परा अन्तर्गत आन्ध्र प्रदेशको एक गाउँको नामबाट यो नृत्यको नामाकरण भएको हो । भारतका विभिन्न राज्यमा यो नृत्य प्रस्तुत गरेका निर्मला निकेतनका छात्राहरु नेपालको कार्यक्रममा पहिलो पटक सहभागी भएका हुन्।
उत्कल युवा साँस्कृतिक संघ ओडिसाको आयोजनामा भएको महोत्सवमा प्रतियोगी र अप्रतियोगी गरी करिब सय नृत्य प्रस्तुत भए । पहिलो दिनको कार्यक्रम छत्तिसगढकी पि मृदुला श्रीको शास्त्रीय गायनबाट सुरु भएको थियो।
कार्यक्रमको दोस्रो प्रस्तुति स्वरुप उनले नै मेहदी हसनको गजल ‘एक बस तु हि नही’गाइन्। छत्तीसगढकै चेतन सिं राजपुतले राग कलावति सुनाए । दीलिप रावतले ‘सरे राह कुछ भि कहा नहीँ’ गाएर मेहफिल नै जमाए । उनको जोशिलो प्रस्तुतिमा दर्शकको वाहवाहीले उत्सवमय वातावरण सिर्जना गरेको थियो।
झारखण्डस्थित जमशेदपुर पब्लिक स्कुलका छात्राहरुको आगमनले मञ्चलाई चम्किलो बनाइदियो। रातो र सेतो अनि नीलो र गोल्डन कम्बिनेशनको पोषाक, हरेकको शिरमा दुइ वटा गुलाव, ठूलो दाना भएको मोतीको मालाले आकर्षक देखिएका छात्राहरुको नृत्य कोरियोग्राफी पनि उत्तिकै सुन्दर थियो। टाइमिङ, एक्सप्रेशन, हाउभाउमा सामूहिक संयोजन निकै सुन्दर देखिएको थियो । शास्त्रीयसँगसँगै, सेमी क्लासिकल, मोर्डन नृत्यहरु पनि महोत्सवमा प्रस्तुत भए।
पहिलो दिनको अन्तिम प्रस्तुति स्वरुप राजा सिक्दरले सबैको मन जिते। ओडिसा स्टाइलमा सेमी क्लासिकल नृत्य प्रस्तुत गरेका उनको मुद्राहरु प्रस्ट थियो। शनिबार गायन र नृत्य गरी करिब ३० प्रस्तुति थिए। अन्तिम दिन आइतबार ४० भन्दा बढी प्रस्तुति थिए।
सर्वनाम थिएटरको सहकार्यमा उत्कल युवा साँस्कृतिक संघले चार वर्ष देखि महोत्सव आयोजना गरिरहेको छ । संस्कृति आदानप्रदानको लागि कार्यक्रम आयोजना गर्दै आएको सर्वनामका संचालक अशेष मल्ले बताए।

कोचिपुडी नृत्यमा सहभागी नृत्यांगनाहरु। तस्बिर: देशसञ्चार।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































