काठमाडौं- राउन्ड रोबिनका पाँचवटै खेल जित्दै विराटनगर वारियर्स एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटको प्ले अफ चरणमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई अाठ रनले पराजित गरेको विराटनगर राउन्ड रोबिनको शीर्षस्थानमा रहने निश्चित पनि गरेको छ।
विराटनगरले फाइनल प्रवेशका लागि दोस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्ने छ। उक्त खेलमा पराजित हुने टोलीले फाइनल पुग्ने प्रतिस्पर्धा गर्न अर्को एउटा अवसर पनि पाउने छ। हारसँगैं काठमाडौं भने पहिलो चरणबाटै बाहिरिएको छ।
पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन जोडेको थियो। विराटनगरका बाबर हायातले ६७, अंशुमान रठले ३२ र कप्तान पारस खड्काले २६ रन बनाए। बाबरले ५० बलमा चार छक्का र पाँच चौका हिर्काए। प्रतियोगितामा यो उनको दोस्रो अर्धसतक हो।
काठमाडौले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर एक सय ३९ रन जोड्यो।
काठमाडौंका लागि कप्तान फार्बिज माहरुफले ४२, नरेश बुढाएरले ३० र सागर पुनले १३ रन बनाए। २५ रन जोड्दा दुई विकेट गुमाएको काठमाडौंले तेस्रो विकेटका लागि ६० रनको साझेदारी गरेको थियो। विराटनगरका बलर अंशुमानले तीन तथा बसन्त रेग्मी र रामनरेश गिरीले दुर्इ दुर्इ विकेट लिए। पारस खड्का र करन केसीले एक एक विकेट हात पारे। विराटनगरले पाँच खेलबाट १० अंक जोड्यो।
काठमाडौले पाँच खेलबाट दुई अंक जोडेको छ । तीन तीन खेल जितेर समान चार अंक जोडेको पोखरा राइनोज र भैरहवा ग्लाडियटर्स सोमबार हुने दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछन्।

भर्खरै
लोकप्रिय






































































































































































































