काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले पेपलबाट विप्रेषण सेवाको सुरुवात गरेसँगै अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सजिलो हुने भएको छ। एनआइबीएलले विज्ञप्तिमार्फत अमेरिकाबाट नेपालीले सहजै पैसा पठाउन सकिने जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘पेपलको सहायताबाट विप्रेषण सेवाको सुरुवात गरेका छौ।अब अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्नेछन्। ‘
त्यसरी पठाएको रकम सो बैंकको खातामा तुरुन्तै जम्मा हुने र नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ।
पेपलमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेन्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका आठ हजारभन्दा बढी भुक्तानी काउन्टरबाट समेत प्राप्त गर्न सकिनेछ।
छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न सो माध्यम उपयुक्त हुने विश्वास लिइएको छ ।
यसअघि बैंकले विदेशमा रहेका नेपालीलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने उद्देश्यले भारतको एस्सिस बैंक र कुवेतको अल सुल्तान एक्चेञ्जसँग पनि सम्झौता गरेको थियो।
यो पनि हेर्नुहोस्:
एनआईसी एशिया बैंकलाई दुई अवार्ड

भर्खरै
लोकप्रिय






































































































































































































