काठमाडौँ- संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अग्रज संगीतकार शम्भुजीत बासकोटाले एउटै गीतमा संगीत गरेको एक लाख रुपैयाँ माग्छन्। तर उनले पैसाकै खाँचो भएर वा पैसा कमाउनकै लागि भने यति महँगो माग गरेका होइनन्। महँगो पैसा मागेपछि संगीत गर्न कम आउलान् भनेर उनले यस्तो भन्ने गरेका हुन्।
किनभने यतिबेला संगीत भर्ने भन्दा पनि नेपाली संगीतको विकासको काममा बढी व्यस्त रहेको उनी बताउँछन्। देशको लागि उनको भूमिका फेरिँदै गएपनि स्रोतामाझ संगीत क्रेज उस्तै छ। यही क्रेजले अहिले पनि ‘संगीत गरिदिनुपर्यो’ भन्दै उनको दैलो घच्घच्याउने थुप्रै छन्।
हालसालै आफूकहाँ आएका संगीतकर्मीसँगको प्रसंग सुनाउँदै उनले भने, ‘आजकल गीत कम्पोज गरेको एक लाख रुपैयाँ भनिदिने गरेको छु, तर बार्गेनिङ गर्दा ७५ हजार रुपैयाँ तिर्न एकजना राजी हुनुभो, त्यही गीतको लागि हिजो मात्र न्ह्यु बज्राचार्यको स्टुडियोमा धेरै पछि छिरेँ, गीत गाउने मान्छेको क्षमता देखेर विरक्त लाग्यो, रेकर्डिङका क्रममा यस्तो लाग्यो कि डेढ लाख रुपैयाँ माग्नुपर्ने रहेछ।’
आजकल धेरै जसो आफ्नो क्षमता नै नहेरी साथीको लहैलहैमा लागेर गीत गाउने सपना बोकेर आउँछन्। प्रविधिको प्रयोगले जस्ता गीतलाई पनि राम्रो बनाइदिने भएकाले भोलि त्यही गीत हिट होला भन्ने आशंका समेत बासकोटाले व्यक्त गरे।
अरुबेलामा उनले लिने गरेको पारिश्रमिक पनि कम भने छैन। एउटा गीत कम्पोज गरेको मात्र ५० हजार रुपैयाँ लिन्छन्। त्यसभित्र एरेन्ज, बाजागाजा पर्दैनन्। अरु कामको व्यस्तताले धेरै गीतमा संगीत गर्न भ्याउँदैनन्। साधारण नेपालीको लागि यो रकम सानो होइन। हुन त यो कलाको क्षेत्र हो। तर आजकाल व्यापार व्यवसाय भन्दा सस्तो र सजिलो छैन।
गीत निकाल्न चाहनेले आफ्नो क्षमता विचार गरेर मात्र आउनुपर्ने सुझाव बासकोटाको छ। भन्छन्, ‘गीत निकालेर एउटा म्युजिक भिडियो बनाउन दुइ तीन लाख खर्च गर्न सक्छन्, एउटा संगीत गर्नेलाई ५० हजार रुपैयाँ दिन ठूलो कुरा मान्नु भएन।’
कुनै बेला रेडियो नेपालमा २० रुपैयाँमा संगीत गर्ने संगीतकार उनै बासकोटा हुन्। रेडियो नेपाल बाहिर उनको माग बेग्लै छ। २०४४ सालमा नै माया चलचित्रको पाँच वटा गीत गर्न उनले ५० हजार रुपैयाँ लिएका थिए। चलचित्र चेलिबेटीमा यादव खरेलले नै ३५ हजार रुपैयाँ दिएका थिए। पछिल्लो समयमा एउटा चलचित्रको दुइ लाख रुपैयाँसम्म लिएका छन्। विदेशको हकमा एउटा कार्यक्रमको दुइ हजार डलर लिने गरेको बताए।