दाङ-मंसिर २१ गते सम्पन्न प्रतिनीधि र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आएको दुई हप्ता बित्दा पनि कुनै उमेदवारहरुले खर्च विवरण पेश गरेका छैनन्। ८१ जना उम्मेदवार बनेका थिए।
अहिलेसम्म कसैले पनि खर्च विवरण नवुझाएको निर्वाचन कार्यालयले बताएको छ।
निर्वाचनमा उमेदवार बनेकाहरुले निर्वाचनमा भएको खर्च विवरण पेश गर्नुपर्ने कानुनी ब्यवस्था भए पनि दुई हप्ता बित्न लाग्दा पनि विवरण अझै पेश नगरेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको हो।
जिल्ला निर्वाचन कार्यालय दाङका नायब सुब्बा रामप्रसाद गिरीले दिएको जानकारी अनुसार अहिलेसम्म कुनै उमेदवारहरुले खर्च विवरण बुझाएका छैनन्।
निर्वाचन ऐन अनुसार प्रतिनीधिसभा तर्फको उमेदवारले २५ लाख र प्रदेशसभा तर्फको उमेदवारले १५ लाखसम्म खर्च गर्न पाउने ब्यबस्था गरिएको छ।
दाङमा प्रतिनीधिसभातर्फ ३० र प्रदेशसभा तर्फ ५१ जनाले उमेदवारी दिएका थिए।
अहिलेसम्म कुनै पनि उमेदवारले निर्वाचनमा कति खर्च भएको भनेर जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छैनन्।
जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीका अनुसार जिल्ला तथा केन्द्रीय निर्वाचन आयोगमा खर्च विवरण बुझाउन पाउने ब्यवस्था गरिएको छ।
अन्तिम मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र जिल्ला निर्वाचन तथा केन्द्रीय निर्वाचन आयोगमा खर्च विवरण बुझाउन पाउने ब्यवस्था रहेको प्रमुख कार्कीको भनाई रहेको छ।
निर्वाचनको खर्च विवरण नबुझाएमा निर्वाचन आयोगले कालोसुची तयार पार्ने र अरु निर्वाचनमा उमेदवार बन्न नपाउने निर्वाचन ऐनमा ब्यबस्था गरिएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































