काठमाडौँ-जलविद्युत् क्षेत्रमा लगानी, उत्पादन तथा प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही पुस २१ गतेदेखि २३ गतेसम्म ‘हिमालयन हाइड्रो एक्स्पो २०१८’ को आयोजना गर्ने भएको छ। जलविद्युत्को विकास र विस्तारमा सहयोग पुग्ने गरी उक्त प्रदर्शनीको आयोजना गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
जलविद्युत् क्षेत्रमा पछिल्लो दिनमा विकास भएका नयाँनयाँ प्रविधि तथा ज्ञानका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ प्रदर्शनीको आयोजना गरिएको इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए।
प्रदर्शनीमा जलविद्युत् उत्पादनकर्ता, सामान आयात गर्ने संस्था वा निकाय, परामर्शदाता, बीमा कम्पनी, लगानीकर्ता तथा बैंक र वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । उक्त प्रदर्शनीमा नेपाल, चीन, भारत, नर्वे, दक्षिण कोरिया, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता रहनेछ।
दर्जनौँ विदेशी कम्पनीको सहभागिता रहने भएकाले नेपालको जलविद्युत्को बजार विस्तारका साथै अनुभवको आदानप्रदानसमेत हुने इपानका उपाध्यक्ष कुमार पाण्डे बताए।
नेपाल सरकारले आगामी दश वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा ठूलो लगानीको आवश्यकता पर्ने भएकाले बैंक तथा वित्तिय संस्थालाई पनि यथार्थ जानकारी दिएर लगानीका लागि अभिप्रेरित गर्न खोजिएको आयोजकले जानकारी दिए।
नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रबीच तीन हजार ५०० मेगावाट क्षमताका आयोजनाबीच विद्युत् खरिद सम्झौता भइसकेको छ । ती आयोजना हाल निर्माणको चरणमा छन् । यस्तै सरकारी लगानीका करिब पाँच हजार मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा छन्।
स्वदेशी लगानीमा विद्युत् उत्पादनलाई गति दिन जरुरी रहेको भन्दै इपानले सरकारसँग मिलेर प्रदर्शनीको आयोजना गरेको इपानका पूर्वअध्यक्ष खड्गबहादुर विष्ट बताए। प्रदर्शनीलाई राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय र जनसंख्या तथा वातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ।
प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र युथ कम्युनिटी फर कन्ट्राक्टर्सले सहयोग गरेको छ । तीन दीनसम्म चल्ने प्रदर्शनीको ५० हजार बढी नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ । नेपालमा उत्पादन भएको विद्युत् भारत, चीन र बंगलादेशसम्म व्यापार गर्ने लक्ष्य राखिएको सन्दर्भमा बजारको खोजी तथा विस्तारलाई केन्द्रमा राखिएको आयोजकले जनाएको छ।
प्रविधिमा आएका विकाससँगै जलविद्युत् आयोजनाको महत्वपूर्ण कार्यका रुपमा लिइने सुरुङ निर्माणमा टनेल बोरिङ मेसिन(टिबिएम)को प्रयोगका सम्बन्म्धमा समेत प्रदर्शनीमा विशेष जानकारी दिइने अध्यक्ष गुरागार्इंले बताए। नेपालमा हाल भेरी बबई डाइभर्सन आयोजनामा टिबिएम मेसिनको प्रयोग भएको छ। एक महिनामा उक्त मेसिनले एक किलोमिटर सुरुङ खनिसकेको छ।
उक्त आयोजनाबाट बर्दियाको करिब ५० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने र ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । लामा लामा सुरुङ निर्माणका लागि उक्त टिबिएम मेसिन प्रयोग उपयुक्त हुने देखिन्छ । इपानका केही सदस्यले समेत उक्त मेसिन ल्याउने तयारी गरिरहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































