काठमाडौँ भूकम्पपछि सुख्खा बनेको रानीपोखरीमा अहिलेसम्म पानी रसाउन सकेको छैन। मंगलबारको दृश्यले अझै केही समय रानीपोखरीले प्यासै रहनुपर्ने अवगत गराउँछ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीको विवादले यो समस्या झनै उल्झिँदै गएको बुझाउँछ। उनीहरुको विवादको चरम उत्कर्ष रानीपोखरीभित्रै देखियो।
मंगलबार बिहानै उपमेयरको नेतृत्वमा पुगेको सम्पदाप्रेमीहरुको टोलीले रानीपोखरीको पुनर्निर्माणको काम रोक्दै गेटमा ताला लगाए। रानीपोखरीमा कंक्रिट प्रयोग गरेर यसको मौलिकता मास्न लागेको भन्दै सम्पदाप्रेमीले तालाबन्दी गरेका हुन्। केही दिनअघिदेखि मात्रै रानीपोखरीको पुनर्निर्माण सुरु भएको थियो।
मंगलबार बिहानको दृश्य पुरानो हुन नपाउँदै दिउँसो नयाँ दृश्य देखियो। मेयर शाक्य आफ्ना टोलीसँग रानीपोखरी अवलोकनका लागि मंगलबार दिउँसो त्यहाँ पुगे। एकतिर उपमेयर खड्गीले आफूलाई पुनर्निर्माणका कार्यको कुनै पनि छलफलमा सहभागी नगराएको गुनासो गरिरहँदा मेयर शाक्यले सोही स्थलबाट खड्गीलाई फोन गरे। तर, खड्गी उपस्थित हुन सकिनन्। रानीपोखरीको सुरक्षाको लागि छेउछेउको भागमा मात्र कंक्रिट प्रयोग गर्न लागिएको जानकारी शाक्यले दिए।
‘यसको सुन्दरता अझै बढाउन र सुरक्षित बनाउन कंक्रिट प्रयोग गर्न लागिएको हो,’ रानीपोखरीको मन्दिर जाने बाटोको रेलिङ देखाउँदै उनले भने, ‘यसअघि नै रानीपोखरीमा कंक्रिट प्रयोग भएको छ।’
विज्ञहरुसँगको छलफल अनुसार नै पुनर्निर्माण थालिएको जानकारी दिँदै उनले भने, ‘योभन्दा राम्रो प्रविधि कसैसँग भए म स्वागत गर्छु, तर कसैको व्यक्तिगत धारणाले मात्रै निर्माण कार्य बन्द हुँदैन।’
यो कुनै विवाद गर्नुपर्ने विषय नै नभएको उल्लेख गर्दै शाक्यले छिटोभन्दा छिटो छलफलबाट समस्या समाधान गर्ने जानकारी पनि दिए।
शाक्यसँगै रहेका शहरी पूर्वाधार विकास विभाग महाशाखाका प्रमुख इन्जिनियर सुरेशकुमार राईले वैज्ञानिक तरिकाले पुनर्निर्माण गर्न लागिएको बताए। पोखरी सफा गरिसकेपछि भूगर्भविद्हरुले यसको अध्ययन गरे। अध्ययनअनुसार १५ मिटरसम्म बालुवाकै तह भएकाले पानी जमिरहन नसक्ने निष्कर्ष निकाले। सोही प्रतिवेदन अनुसार नै पानी जोगाउने उपायस्वरुप कंक्रिट प्रयोग गरेर निर्माण कार्य थालनी गरेको जानकारी उनले दिए। केहीले पोखरीलाई सानो बनाउन लागे भन्ने आशंका व्यक्त गरिरहँदा यसलाई पनि उनले प्रस्ट पारे, ‘यो खालि ठाउँ देख्दा त्यस्तो लाग्न सक्छ, तर पोखरी पुरानै साइजमा बन्न लागेको छ।’

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य। तस्बिर: विनीता मरहट्टा

भर्खरै
लोकप्रिय






































































































































































































