
लन्डन-अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालको गैरजिम्मेवारीपूर्वक प्रयोग नगर्न चेतावनी दिएका छन्। यसबाट जटिल मुद्दामा मानिसमा गलत बुझाइ हुने उनले खुलासा गरेका छन्।
बेलायतका नवयुवराज ह्यारीसँगको बीबीसी अन्तर्वार्तामा ओबामाले यस्तो बताएका हुन्। गत जनबरीमा राष्ट्रपतिको पद त्याग गरेपछि दिइएको दुर्लभ अन्तर्वार्ता मानिएको छ। उनले आफ्ना उत्तराधिकारी डोनाल्ड ट्रम्पको नामै उल्लेख नगरी लक्षित गरेका छन्।
बीबीसी रेडियो फर टुडेजमा अतिथि सम्पादन कार्यक्रममा ह्यारीले ओबामालाई थुप्रै प्रश्न गरेका थिए। ह्यारी बेलायती राजगद्दीका पाँचौं वरीयताका व्यक्ति हुन्।
पदमा रहेका व्यक्तिले सामाजिक सञ्जालमा सन्देश पोस्ट गर्दा सावधान हुनुपर्नेमा ओबामाले जोड दिए। यसले सामाजिक सूचना विकृत गराइरहेको उनले खुलासा गरे।
उनले भविष्यको बारेमा चिन्ता प्रकट गरे। मानिसले तथ्यप्रति बेवास्ता गर्ने र आफ्नो विचारको समर्थन गर्ने सूचना पढ्ने र सुन्ने बताए।
मानिसले यथार्थभन्दा बेग्लाबेग्लै जानकारी इन्टरनेटबाट हुने खतरामध्ये एक भएको उनले चर्चा गरे। आफूलाई समर्थन गर्ने सूचना मात्र बुझ्नेछन्।
मुख्य समस्या यो हो कि जसरी यो प्रविधिले विचारलाई बहुलता दिने प्रयास गर्छ, त्यसरी नै दृष्टिकोणमा पनि विविधता दिन्छ। तर, यसले समाजको विविधता र समानतातर्फ अग्रसर गर्दैन। उनले राष्ट्रपति ट्रम्पले ट्विटरको निकै प्रयोग गरेको उल्लेख गरे। यद्यपि यसबाट उनी अमेरिकी जनतासमक्ष सीधै जोडिने अवसर पाएको बताए। ट्रम्पलाई सत्ता हस्तान्तरण गरेपछिका आफ्ना मिश्रित भावना उनले सुनाए।