
काठमाडौं- स्थापनाको २५ औं वर्ष मनाइरहेको नेपथ्यले म्युजिक भिडियो रिलिज गर्ने क्रममा अबको ताजा सिर्जनाचाहिँ ब्याण्डकै पहिलो गीत छनौट गरेको छ।
‘आँगनैभरि हिउँ नै झरे, आरुफूल है टिपि राखे है’ ले समूहको सबैभन्दा पुरानो सम्झनालाई भिडियोको नयाँ आवरणमा प्रस्तुत गर्नेछ।
नेपथ्यको सांगीतिक जीवनमा सबैभन्दा पहिले रेकर्ड भएको मात्र होइन, उसको पहिलो एल्बमकै पहिलो गीतका रुपमा समेत प्रस्तुत भएको हिसाबले यसलाई ब्याण्डकै पहिलो आधिकारिक गीत मानिँदै आएको छ।
उक्त एल्बम सन् १९९३ को अप्रिल एक तारिखमा रिलिज भएको थियो। त्यसै दिनलाई नेपथ्यको स्थापना दिवस पनि मानिएको छ।
नब्बेको दसकको प्रारम्भमा पोखराका तीनजना तन्नेरीहरुको प्रयासबाट नेपथ्य ब्याण्डको जग हालिएको थियो।
उनीहरु थिए- दिपकजङ्ग राणा, भीम पुन र अमृत गुरुङ। त्यसपछि रविन श्रेष्ठ, सुरेश पुन र बुद्धि गुरुङले यो टोलीसँग सहकार्य अघि बढाए।त्यो प्रयासकै प्रतिफलमा नेपथ्यको पहिलो एल्बम जन्मिएको थियो।
‘नब्बेको दसक प्रारम्भमा यस गीतका शब्दहरु केलाउँदै मैले र दिपकले संगीत भर्ने कोशिस गर्दाका क्षण म अहिले पनि सम्झन्छु,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत भन्छन्, ‘पछि रेकर्ड हुँदा यसमा स्वर चाहिँ रविनले दिएका थिए।’
नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ वटा स्वर्णीम वर्ष बिताइसकेको छ।
त्यस क्रममा ब्याण्डले २१ जना संगीतकर्मीहरु उसका सदस्यका रुपमा भित्र्याउने र विदा गर्ने काम गरिसकेको छ।
‘यो म्यूजिक भिडियो २५ वर्ष लामो यात्रामा ब्याण्डलाई योगदान दिने तमाम सदस्यहरु प्रति आभार प्रकट गर्ने माध्यम पनि बनेको छ,’ नेपथ्यलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘भिडियोमा उनीहरु सबैलाई सम्झने कोशिस गरिएको छ।’
यो भिडियो नेपथ्यको वर्तमान टोलीले प्रस्तुत गर्दाको प्रत्यक्ष रेकर्डमा आधारित छ।
बुटवलमा २०७३ फागुन १४ मा नेपथ्यको कन्सर्टका बेला गाइएको आवाज नै यसमा प्रयोग गरिएको हो।
त्यसैगरी दृश्यहरु पनि बुटवलको कालिका स्कुल, काठमाडौंको टुँडिखेल र पोखराको रंगशालामा कन्सर्ट गर्दाका क्षणबाट लिइएको हो।
‘पहिलो एल्बमका निम्ति खिचिएका तस्बिरहरु हेर्दा म यो गीत रिलिज गर्ने क्षणहरु सम्झन पुग्छु जसले मलाई यो उमेरसम्मको लामो यात्रामा आइपुग्दाका प्रारम्भिक दिनहरुकोसम्झना गराउँछ,’ अमृत भन्छन्, ‘त्यतिबेला २५ वर्षे ठिटो अहिले पचास पुग्नै लागेको छु।’
नेपथ्यले रजत वर्ष मनाउन सुरुगरेदेखि नै आफ्ना हरेक कन्सर्टहरुमा नबिराइकन यो गीतलाई प्रस्तुतगर्दै आइरहेको छ। त्यसैगरी ब्याण्डले जसै यो गीत गाउन सुरुगर्छ, त्यसै क्षण एउटा ठट्टा पनि गरिदिन्छ।
‘२५ वर्ष बुढो गीत पो हो यो,’ गायक अमृतले भनिदिन्छन्,‘यो कन्सर्टमा उपस्थित हुनुभएका धेरैलाई हेर्दा तपाइहरु त यो गीत आएको बेलामा जन्मिनु पनि भएको थिएन ।’
अमृतले यसो भनेपछि उपस्थित श्रोता दर्शकहरु माझ हाँसो फैलिनुका साथै आफ्नो प्रिय गीत सुन्नका निम्ति ताली बज्न थालिहाल्छ ।
यो गीत जसरी नयाँ श्रोताहरुको निम्ति नयाँ गीत हो, त्यसैगरि अमृतसँगै पाको हुँदै गएकाहरुको निम्ति भने एउटा लामो कालखण्डको सहयात्रा स्मरण गराउने माध्यम ।
कन्सर्टहरुमा चालिस आसपासका श्रोता, मुख्यतः महिला श्रोताहरु प्रायः गायकसँगै साथमा साथ मिलाएर गाइरहेका देखिन्छन् ।