बाँके–पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको भ्रमणमा आइपुगेका छन्।
अपरान्ह पाँच बजे पूर्वराजा सपरिवार नेपालगञ्ज विमानस्थलमा उत्रिँदा ठूलो संख्यामा पूर्वराजाका समर्थकहरुले बाजागाजा र नाराबाजी गरेका थिए।
नेपालगञ्ज विमानस्थलको प्रवेशद्वारदेखि राँझाचोकसम्म पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न मानिसहरु लाइन बसेका थिए। ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’ लगायतका नाराले विमानस्थल घन्किएको थियो।
नेपालगञ्जमा भर्खरै सञ्चालनमा आउन लागेको सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानीलगायतको टोली बसेको छ। नेपालगञ्ज विमानस्थलबाट पूर्वराजपरिवार सिधैं सोल्टी होटल पुगेको थियो।
समर्थकलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भइरहेका बेलामा विमानस्थलमा पुगेका पत्रकारसँग पूर्वराजा शाहले नेपालगञ्ज आउँदा धेरै खुशी लागेको प्रतिक्रिया दिए। ‘म सबै दाजुभाइ दिदीबहिनीसँग भेट्न आएको हुँ,’ उनले विमानस्थलमा भने।
पूर्व राजपरिवारको स्वागतका लागि नेपालगञ्जमा नेपाल विद्धत परिषद्का केन्द्रीय उपाध्यक्ष अधिवक्ता दिपकबहादुर सिंहको संयोजकत्वमा २ सय १ सदस्यीय स्वागत मूल समारोह समिति गठन गरिएको छ।
सिंहका अनुसार, पूर्वराजा परिवार दुई सातासम्म मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्नेछन्। नेपालगञ्जको बागेश्वरी मन्दिर, नेपाल भारत सीमा जमुनाहामा रहेको हनुमान मन्दिरमा उनले पूजा गर्ने कार्यक्रम छ। बर्दियाको गुलरिया, दाङ, सुर्खेत र धनगढी जाने कार्यक्रम छ।
पश्चिम नेपालको बसाइमा पूर्वराजा शाहले विभिन्न व्यक्तिलाई भेट्ने सिंहले जानकारी दिए।
उनी काठमाडौंबाट अपराह्न ३ः४५ को श्री एयरलाइन्स चढेर नेपालगञ्ज पुगेका हुन्।

पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार नेपालगञ्ज विमानस्थलमा। तस्बिर: कुमार श्रेष्ठ

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा बिहीबार नेपालगञ्जमा लामबद्ध स्थानीय। तस्बिर: कुमार श्रेष्ठ

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































