न्युयोर्क- संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका ४ वटा जहाजलार्इ अन्तर्राष्ट्रिय बन्दरगाहसम्म जान प्रतिबन्ध लगाएको छ।
ती जहाजमा प्रतिबन्धित सामग्री भएको आशंका गरिएको छ। राष्ट्रसंघले प्योङयाङमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउँदै आएको छ।
अमेरिकाको अनुरोधमा रोकिएका जहाज यूआई जी बोङ ६, रंग रा २, साम जोङ २ र रे सोङ गाङ १ छन्। अमेरिकी आग्रहमा कोरियाका ४ वटा जहाजमा मात्र प्रतिबन्ध लगाउन चीन पनि सहमत भएको हो।
एक कूटनीतिज्ञले ४ वटा जहाजमा मात्र प्रतिबन्ध लगाइए पनि यसबाट भविष्यमा अरु जहाजमा प्रतिबन्ध लगाउने बाटो खुला भएको भन्दै खुसी प्रकट गरे। क्षेप्यास्त्र प्रक्षेपण र परमाणु कार्यक्रमलार्इ निरन्तरता दिएको भन्दै उत्तरमाथि प्रतिबन्ध लगाइँदै आएको छ।
सुरक्षा परिषद्ले सन् २०१७ मा उत्तर कोरियामाथि तीन चरणमा प्रतिबन्ध लगाएको थियो। यसमा फलाम, कोइला, मत्स्य उद्योग, कपडा, तेल आपूर्ति र पेट्रोलियम पदार्थ सामेल छन् । राष्ट्रसंघले ५ अक्टोबरमा पनि प्रतिबन्धित सामान लिएर गइरहेका ४ वटा जहाजलार्इ रोकिदिएको थियो। यसरी सामान लिएर गइरहेका जहाजलार्इ रोकिएको संयुक्त राष्ट्रसंघको इतिहासमा पहिलो पटक हो।
यो पनि हेर्नुहोस्:
अन्तरिक्ष कार्यक्रमको नाममा परमाणु परीक्षण गर्दै उत्तर कोरिया