
काठमाडौँ- निर्वाचन आयोगले नेपाल सरकारलाई राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ गते गर्न परामर्श दिएको छ।
सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति घोषणा गर्ने संवैधानिक व्यवस्थानुरुप आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उक्त मितिको परामर्श दिएको आयोग स्रोतबाट थाहा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास, बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितको आयोगको टोलीले भेटेर उक्त निर्वाचनको यथाशीघ्र मिति घोषणा गर्न आग्रह गरेको थियो।
यद्यपि सरकारले राजनीतिक दलसँग छलफल गरी मन्त्रिपरिषद्को आगामी बैठकपछि निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बुझिएको छ। राष्ट्रियसभा निर्वाचनका लागि सात प्रदेश राजधानीमा निर्वाचन केन्द्र तोक्ने तयारी आयोगले गरेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभाका ५५० सदस्य तथा ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी दुई हजार ५६ जना मतदाता हुनेछन्। प्रदेश राजधानी रहेको जिल्लाका जिल्ला न्यायाधीशलाई आयोगले निर्वाचन अधिकृत तोक्नेछ। उक्त निर्वाचनका लागि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ तथा प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ।
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन महिला तथा एक एक दलित र अपाङ्गता वा अल्पसंख्यकसमेत गरी आठ आठ जनाका दरले ५६ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । उनान्साठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना मनोनयन गर्ने व्यवस्था छ । विद्यमान संवैधानिक व्यवस्थानुरुप राष्ट्रियसभामा २२ महिलाको प्रतिनिधित्व हुनेछ।
यो पनि हेर्नुहोस्:

