काठमाडौं–राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल)कोे फाइनलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा सुरु भएको छ। छ । टस जितेको विराटनगरले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।
त्रिवि क्रिकेट मैदानमा हुने यस खेलको विजेताले २१ लाख रुपैयाँ पुरस्कार जित्ने छ। राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर प्रतियोगिताको एकमात्र अपराजित टोली हो।
यता राष्ट्रिय टोलीकै महत्वपुर्ण सदस्य शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा विराटनगरसँग दुई पटक पराजित भएपनि फाइनल पुग्न सफल भएको थियो।
विराटनगरले राउन्ड रोबिन र पहिलो क्वालिफायरमा भैरहवालाई हराएको थियो। प्रतियोगितामा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने दुवै खेलाडी विराटनगरका रहेका छन्।
विराटनगरका बाबर हायातले तीन सय दुई र अंशुमान रठले दुई सय ३० रन जोडेका छन्। भैरहवाका लागि सर्वाधिक आरिफ शेखको छ। उनले प्रतियोगितामा एक सय ६० रन बनाएका छन्।
सर्वाधिक विकेट विराटनगरका बसन्त रेग्मीले लिएका छन्। उनको नाममा १२ विकेट छ। भैरहवाका दिपेश श्रेष्ठको नाममा नौ विकेट छ।
यो पनि हेर्नुहोस्: