काठमाडौँ–एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले जनादेश विपरीत नेपाली कांग्रेसले बाम गठबन्धन तथा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँच वर्षका लागि प्रधानमन्त्रीको पद लिन आग्रह गरेको दाबी गर्दै त्यस्ता कुनै पनि प्रयास सफल नहुने दाबी गरेका छन्।
एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा लिखित पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’को विमोचन र विवेचना कार्यक्रममा बोल्दै एकीकृत बाम पार्टीका रुपमा या बाम गठबन्धनका रुपमा अबको सरकार बन्ने र त्यसले अग्रगामी एजेन्डा लागू गर्ने प्रतिबद्धता ब्यक्त गरे। ‘स्थायित्व र विकाशतर्फ अब मुलुक बढ्छ र अस्थिरताका प्रयास असफल हुन्छन्’, ओलीले भने।
सरकार गठन र पार्टी एकताजस्ता चुनावपूर्वका प्रतिबद्धताबारे उनले भने, ‘पार्टी एकता तुरुन्तै या दुई चारदिनमा सकियो भने ठिकै छ । अन्यथा बाम गठबन्धन सरकार बन्छ नै।’
उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा सम्पन्न विमोचन कार्यक्रममा संघीयताको सफलताबारे लेखक गौतमले प्रश्न उठाएकोमा र शान्ति प्रक्रियालगायत विषयलाई अवमूल्यन गरेकोमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले उनको आलोचना गरे। अर्का वक्ता कांग्रेस नेता रामचन्द्र पौडेलले पुस्तकमा ज्यादा राजा महेन्द्रको गुणगान गाइएको र नेपाली कांग्रेस र बिपी कोइरालाको अगुवाइमा गरिएको सामाजिक, आर्थिक र विकाससम्बन्धी कार्यक्रमका श्रेय पनि राजालाई दिइएको आरोप लगाए।
घोचपेच र आलोचनाका बीच पनि गौतमले अब संविधान जारी भइसकेको अवस्थामा एक वर्षभित्र सबै मिलेर बृहत राष्ट्रिय विकास अवधारणा विकसित गर्नुपर्ने र त्यसपछिका नौ वर्ष त्यसको कार्यान्वयनमा खर्चिई मुलुकलाई विश्वका विकसित मुलुकका पंक्तिमा उभ्याउनु पर्छ भनी दिएको सुझावलाई सबैले सराहना गरे।

बामदेव गौतमको पुस्तक विमोचन गर्दै कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपराष्ट्रपति नन्दकिशोर पुन।
कांग्रेस नेता पौडेलले आफूले समग्र पुस्तक पढिनसकेको भए पनि त्यसमा उठाइएका केही प्रसंगबारे आपत्ति जनाए। ‘मदन भण्डारी र जीवनाथ आश्रितको ज्यान गुमेको दासढुंगा कान्डमा नेपाली कांग्रेस र त्यसका नेता गिरिजाप्रसाद कोइरालाको कुनै सम्बन्ध नभएको म आफ्नो अन्तरचेतनाबाट भन्न सक्छु।’ उनले भने, ‘महेन्द्रले कोदारी राजमार्ग तथा अन्य निर्माण कार्यबाट विकास र राष्ट्रियताका उदाहरण पेश गरेका थिए भने बिपी कोइरालाले अमेरिका, इजरायल, पाकिस्तान आदि मुलुकसँगको सम्बन्धबाट कम उदाहरण पेश गरेका थिएनन्।’
गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको योगदान दिन पनि गौतमले कन्जुस्याइँ गरेको बताए। यी सबै विषयमा कांग्रेसको भूमिका अवमूल्यन गरिएको या नकारात्मक रुपमा पेश गरिएको उनले स्पष्ट पारेका थिए।
‘राजनीतिक परिवर्तनसँगै विकासका लागि सर्वाधिक महत्वपूर्ण सुशासन र भष्ट्राचारको अन्त्य हुनैपर्छ तर अहिलको निर्वाचनमा बगेको पैसाको खोलाले प्रजातन्त्रलाई थला पारेको छ। भष्टाचारलाई अन्त्य गर्ने अभियान शिरानबाट या कार्यकारी प्रमुखबाटै सुरु हुनुपर्छ’, हालैको प्रतिनिधिसभा निर्वाचनमा तनहुँबाट पराजित पौडेलले भने। माओवादी नेता दाहालले निर्वाचनपछि पनि देश दुर्घटनाको सम्भावनाबाट मुक्त नभएको चेतावनी दिए।
जनादेश पाएको बाम गठबन्धन सरकारको अग्निपरिक्षा वास्तवमा अब सुरु हुने र शान्ति सुशासनमा मुलुक प्रवेश भएमात्र ‘हाम्रो सफलता’ मानिने उनले बताए। तर, उनले विभिन्न विषयमा कांग्रेस नेता पौडेलभन्दा निकै बढी गौतमको आलोचना गरे। बाह्र बुदेमार्फत नेपाली कांग्रेस, एमाले र माओवादीबीचको सहमति र सहकार्यबाट उठेको जनआन्दोलन र शान्ती सम्झौताबारे कम चर्चा गरिएकोमा पनि उनको आपत्ति थियो। माधव नेपाल र लेखक गौतम स्वंय नै संलग्न यो उपलब्धिको अवमूल्यन स्विकार्य नभएको उनले बताए।
‘नेपाल संघीयतामा प्रवेश गरिसकेको छ। संघीयताले फाइदा गर्दैन भन्नु राम्रो होइन र उहाँको उचाइ अनुरुप यो अभिव्यक्ति मान्न सकिँदैन । र यस्ता अभिव्यक्तिले भोलि असहजता जन्माउँछ, पक्कै। निर्वाचन पैसा र राजनीतिक विकृतिबाट अछुतो छैन र त्यसको मार ‘कमरेड गौतम’लाई पर्यो’, दाहालले भने।
एमाले अध्यक्ष ओलीले गौतमले व्यस्त राजनीतिक जीवनबीच विकासको अवधारणालाई प्राथमिकता दिँदै पुस्तक निकालेकोमा सराहाना गरे र बहुलवादी लोकतान्त्रिक परम्परामा गौतम या कसैको आलोचना हुनु उनले गौतमको बचाउ गरे।
ओलीका अनुसार अबका चुनौती संघर्ष र बलिदानबाट आएको लोकतन्त्रको रक्षा र बामपन्थी लोकतान्त्रिक हुने सक्दैनन् भन्ने मान्यतालाई गलत सावित गर्नु रहेको बताए। आफ्नो धारिलो व्यंग्यात्मक व्यक्तित्वको प्रयोग गर्दै उनले भने, ‘संविधान बनाउनलाई कांग्रेसलाई हामीले प्रधानमन्त्री पद दियौं।’
उनले जोड्न खोजेको सन्दर्भ सुशील कोइरालालाई प्रधानमन्त्री बनाइएको घटनासँग जोडिएको थियो। निर्वाचनमा पार्टीको पराजयपछि पनि राजीनामा नगरेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउबाको नाम नलिई उनले भने, ‘म प्रधानमन्त्री पद छाड्दा उत्तराधिकारीको निर्वाचनसम्बन्धी नियम अस्पष्ट थियो तर बाधा अड्काउ फुकाएर मैले उत्तराधिकारीको मार्ग प्रशस्त गरें।’
देउबासँगै उनले त्यसबेला उनका उत्तराधिकारी बनेका प्रचण्डप्रति पनि नाम नलिई कटाक्ष गरेका थिए। लोकतन्त्रको रक्षा, सुदृढीकरण, सम्बर्द्धन, सुशासन र भष्ट्राचारको अन्त्य नै बाम गठबन्धनको लक्ष्य हुने बताए। मुलुकको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमानलाई माथि उठाउन अनि ‘हाम्रा पुर्खाले लडेर बचाएका स्वाधीनता’ प्रति गर्व गर्दै अघि बढ्दा त्यो कसैविरुद्ध नहुने पनि उनले बताए।
‘हामी छिमेकीसँग असल छिमेकी बन्छौं, सन्तुलित सम्बन्धसहित अघि बढ्न चाहन्छौं तर हामी कसैको स्याटेलाइट होइन, स्वाभिमानी र सार्वभौम मुलुकका रुपमा अघि बढ्छौं । हामी राष्ट्रियताप्रति सजग छौं’, ओलीले भने।