काठमाडौँ- बाम गठबन्धनका नेताहरुले राष्ट्रिय सभा गठन नभए पनि आफ्नो नेतृत्वमा चाँडै नयाँ सरकार गठन हुने बताएका छन्।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डेले शनिबार रिपोर्ट्स क्लबमा आयोजित कार्यक्रममा राष्ट्रियसभा गठन नभए पनि नयाँ सरकार गठन हुने विचार व्यक्त गर्दै वाम गठबन्धनको नेतृत्वमा दुई हप्ताभित्रै नयाँ सरकार बन्ने विश्वास दिलाए। उनले भने, ‘अब सरकार गठनको प्रक्रिया हामी शशुरु गर्छौं, संविधानको धारा ७६ को उपधारा १ मा स्पष्ट छ, नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको गठन नभए पनि हुन्छ।’
नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने जानकारी दिँदै भने, ‘हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौँ, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुईमत छैन।’
वाणिज्यमन्त्री मीन विश्वकर्माले प्रधानमन्त्रीले सरकार छाड्न आतुर रहेको बताउँदै नयाँ सरकार गठनका लागि केही कानूनी प्रक्रिया मिलाउन आवश्यक देखिएकाले कम्तीमा पनि छ हप्ता समय लाग्ने विचार व्यक्त गरे।
उनले राष्ट्रियसभाको निर्वाचन भएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु हुने बताउँदै निर्वाचन आयोगले दल दर्ताका लागि १५ दिनको समय तोक्ने त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्ने बताए।
राष्ट्रिय जनता पार्टीका शीर्ष नेता लक्ष्मणलाल कर्णले राजनीतिको मूल ‘कोर्स’ भनेको नै सरकार भएकाले जनादेशअनुसार सरकार बनाउन राम्रो हुने सुझाव दिँदै आफूहरुको प्राथमिकता अहिले सरकारभन्दा पनि संविधान संशोधन र नेता तथा कार्यकर्तामाथि लगाइएका झुठा मुद्दा फिर्ता रहेको स्पष्ट पारे।
यो पनि हेर्नुहोस्: