
नयाँदिल्ली-भारतका उत्तरी राज्यमा बाक्लो हुस्सु लागेका कारण जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण सोमबार हवाई र रेलसेवा पनि अवरुद्ध भएको छ।
राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा निकै बढेपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको हो । गत सातादेखि नै भारतका उत्तरी क्षेत्रमा हुस्सु लागेको थियो।
नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान भर्नुपर्ने १२ वटा उडान अवरुद्ध भएका छन् । इन्दिरा गान्धी विमानस्थलमा अवतरण हुनुपर्ने र र उड्नुपर्ने विमान उड्न सकेका छैनन्।
सोमबार बिहान उक्त विमानस्थलमा पाँचवटा आन्तरिक र सातवटा अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको उड्डयन अधिकारीले जानकारी दिएका छन् ।
बाक्लो हुस्सुको कारण रेलसेवा पनि अवरुद्ध भएको छ । बाटो नदेखिने गरी लागेको हुस्सुले दिल्लीको रेलसेवा पनि अवरुद्ध भएको छ । दिल्ली रेलवे स्टेशनका करिब ९० वटा रेलसेवा सोमबार बिहान अवरुद्ध भएको छन्।
भारतको राजधानी नयाँ दिल्लीभरका करिब ५६ वटा रेल सेवा ढिला गरिएको, २० वटाको समय परिवर्तन गरिएको र १५ वटा रेलसेवा रद्द नै गरिएको उत्तरी रेलसेवाका अधिकारीले जनाएका छन् । पछिल्ला वर्षमा बढ्दो प्रदूषणका कारण हुस्सु लाग्ने गरेको छ ।