
धनगढी- ठूलो रकम लिएर नक्कली घरनक्सा बनाउने धनगढीका एक युवक पक्राउ परेका छन्।
आफ्नो गाउँका धेरै जनाका नक्कली घरनक्सा बनाएर पास गराउने धनगढी उपमहानगरपालिका १२ डी गाउँका धर्मेन्द्र सिंह प्रहरीको फन्दामा परेका हुन्। उनले नगरपालिकाकाको कार्यकारी अधिकृत, डिभिजनल इन्जिनियर र अमिनका नक्कली हस्ताक्षर गरेर एकै घरको नक्साको ३५ हजार रुपैयाँसम्म रकम लिने गरेको खुलेको छ।
घर सम्पन्नताको प्रमाणपत्र बिनाछापको दिएपछि सेवाग्राही उपमहानगरपालिकामा आएका र त्यसपछि त्यो नक्कली नक्सा भएको खुलेको हो। आफूसँग ३५ हजार रुपैयाँ लिएर घरनक्सा बनाएको तर त्यसमा छाप लगाएको नदेखेपछि नगरपालिकामा आउँदा नक्कली नक्सा भएको थाहा भएको डी गाउकै पीडित नारायण ठगुन्नाले बताए।
छाप लगाउन घरनक्सा फाँटमा आएका बेला हस्ताक्षर नक्कली भएको देखेपछि यसको रहस्य खुलेको उपमहानगरपालिकाका अमिन कृष्ण साहीले बताए। नक्कली नक्सा बनाउने सिंह आफैँ छाप लगाउन उपमहानगरपालिकामा आएका थिए। तर हस्ताक्षर नमिलेको कुरा उठ्नेबित्तिकै उनी कुलेलम ठोके पनि पीडितको सहयोगमा प्रहरीले पक्राउ गरेको हो।
आफ्नो गाउँका धेरै जनाका नक्कली घरनक्सा बनाएर सम्पन्नताको प्रमाणपत्र पनि दिइसकेका सिंहले सरकारी छाप, कार्यकारी अधिकृतको हस्ताक्षर, डिभिजनल इन्जिनियर र अमिनको हस्ताक्षर नक्कली गरेर घरनक्सा बनाउने गरेका थिए।
घरनक्साका कागजातमा धनगढी उपमहानगरपालिकामा सूचीकृत नभएको धनगढीको डेल्टा कन्सल्टेन्सीको पनि छाप हानिएको छ।
धनगढी उपमहानगरपालिकाले धर्मेन्द्रबिरुद्ध नक्कली कागजपत्र किर्तेेसहित ठगी मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।