
नेपालगञ्ज–सरकारले दाङलाई प्रदेश नम्बर ५ को अस्थायी मुकाम तोकिरहँदा बाँकेका प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुले नेपालगञ्जलाई राजधानी बनाउन दबाब दिने बताएका छन्।
नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबार आयोजना गरेको जनप्रतिनिधिलाई सम्मान तथा शुभकामना कार्यक्रममा बाँकेबाट निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरुले ५ नम्बर प्रदेशको राजधानी नेपालगञ्ज नै उत्तम रहेको जिकिर गरे।
क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले जोखिम नमोली नेपालगञ्ज राजधानी बन्न नसक्ने भएकाले साझा र दीर्घकालीन धारणासँगै आन्दोलनमा जानुपर्ने बताए।
नेपालगञ्ज बजार समेटिएको क्षेत्र नं. २ का विजयी सांसद मो. इस्तियाक राईले नेपालगञ्ज प्रदेश राजधानीका लागि उपयुक्त रहेकाले त्यसका लागि सबै जना मिलेर सरकारलाई दबाब दिनुपर्ने बताए। उनले आफ्नो क्षेत्रको विकासका लागि पार्टी र नीतिभन्दा माथि उठेर लड्नुपर्ने बताए।
प्रदेश सभाका विधायकहरु सुरेन्द्र हमाल, विजय यादव, आरती पौडेल, कृष्णा केसी, बाबुराम गौतमले जिल्लाको विकासका लागि हरसम्भव प्रयासमा लाग्ने बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा र उपमेयर उमा थापाले प्रदेश राजधानीलगायत नेपालगञ्जको विकासका लागि नेपालगञ्ज उपमहानगरपालिका सांसद र विधायकहरुसँग हातमा हात राखेर अगाडि बढ्न तयार रहेको बताए। प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरुलाई मेयर र उपमेयरले दोसल्लासहित स्वागत गरेका थिए।
यो पनि हेर्नुहोस्: