
काठमाडौं-ग्लोबल आइएमई बैंकले ११औँ वार्षिकोत्सवको अवसरमा नयाँ कर्पोरेटर रजिष्टर्ड कार्यालय सञ्चालनमा ल्याएको छ।
नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मंगलबार कार्यालय उद्घाटन गरे। बैंकले स्थापनाको ११ वर्षमा आफ्नै कर्पोरेटर रजिष्टर्ड कार्यालय स्थापना गर्न सफल भएको छ।
सो अवसरमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सफलताको श्रेय ग्राहक, शेयर होल्डर, शुभचिन्तक तथा कर्मचारीहरूलाई दिँदै अझै उत्कृष्ट सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
नेपाल उद्योग वाणिज्य संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो। ग्लोबल आइएमई बैंकले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिँदै आएको छ।
बैंकले भारत, बेलायत र अष्ट्रेलियामा प्रतिनिधि तथा सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ। बैंकले कोरिया, भारत, मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
वार्षिकोत्सवकै अवसरमा एकै दिन बैंकले ५ स्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले कमलादी, भक्तपुरको गोठाटार, बैतडीको पुर्चौडी नगरपालिका, गुल्मीको गौडाकोट र झापाको दमक नगरपालिकामा गरी ५ शाखा सञ्चालनमा ल्याएको हो। ती ५ शाखा सञ्चालनमा ल्याएसँगै हाल कुल संख्या ११३ पुगेको छ।
यो पनि हेर्नुहोस्:
राष्ट्र बैंक फेरि १० अर्ब रुपैयाँ बजारमा पठाउँदै