
मुम्बई- जनबरी १ तारिखमा पुणेस्थित भीमा कोरेगाउँमा भड्किएको हिंसाका कारण बुधबार महाराष्ट्र बन्द गरिएको छ।
दलितहरूले बुधबार महाराष्ट्र बन्द घोषणा गरेका थिए। उक्त हिंसा पुणे, मुम्बई, औरंगाबाद र अहमदनगर लगायत १८ वटा शहरमा फैलिएको छ। ठाणेसमेत कैयौं क्षेत्रमा प्रशासनले भीडभाड हुन प्रतिबन्ध लगाएको छ।
बन्दका कारण ठाणेमा रेल सेवा बन्द भएको छ। ठाणेमा ४ जनवरीसम्म धारा १४४ लागू गरिएको छ।
कैयौं क्षेत्रमा प्रदर्शनकारीले जबरजस्ती पसल बन्द गराउँदै हिँडेका छन्। गोरेगाउँमा सवारी साधन रोकिएका छन्। मुम्बईका कैयौं क्षेत्रमा सरकारी बस पनि निकै कम चलेका छन् । मुम्बईका डब्बावालाले पनि सेवा बन्द गरेका छन्।
प्रहरी प्रशासनले संयमित हुन आह्वान गरेको छ । डिएसपी प्रवीण मुण्डेले सबैलाई नियमित जीवनमा फर्कन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा फैलिएका अफवाहमा भर नपर्न आग्रह गरेका छन्।
यसैगरी बन्दबाट सबैभन्दा प्रभावित इलाका चेम्बुर जोनटका डिएसपी शहाजी उमापले ८ जनाविरुद्ध उजुरी दर्ता भएको बताएका छन् । १५ जनालाई पक्राउ गरिएको उनले जानकारी दिएका छन् । अराजक स्थिति नहोस् भनेर सजगता अपनाइएको उनले बताए।
बन्दका कारण मुम्बईका सडकमा टेम्पो पनि निकै कम देखिएका छन् । मानिसहरू बाटोमा अलपत्र भएका छन् । मुलुण्डमा रिक्साचालकहरूले बन्दको समर्थन गरेको बताए । नोक्सानी हुने डरले उनीहरूले रिक्सा नचलाएको बताए।
यो विषयमा बुधबार संसद्मा चर्चा चलेको छ। राज्यसभामा समाजवादी पार्टीका सांसद नरेश अग्रवाल र कांग्रेस सांसद रजनी पटेलले सभा स्थगनको प्रस्ताव गरे । यसैगरी लोकसभामा विपक्षी नेता मल्लिकार्जुन खडगेले स्थगन प्रस्ताव ल्याएका छन्।
औरंगाबादमा इन्टरनेट सेवा पनि प्रभावत भएको छ । अर्को आदेश नहुँदासम्मलाई पुणेको बारामतीदेखि सतारासम्मको रेल सेवा बन्द गरिएको छ । मुम्बईका कैंयौं शिक्षण संस्था बन्द गरिएका छन् ।
डा. भीमराव अम्बेडकरका नाति प्रकाश अम्बेडकरले हिंसा रोक्न सरकार असफल भएको भन्दै बुधबार महाराष्ट्र बन्द आह्वान गरेका छन् । ६३ वर्षीय प्रकाश अम्बेडकरले २५० भन्दा बढी दलित संस्थाको समर्थन रहेको बताएका छन् ।
कांग्रेस अध्यक्ष राहुल गान्धीले उक्त हिंसा भाजपा र आरएसएसका कारण फैलिएको आरोप लगाएका छन् । बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले सरकारले सुनियोजित रूपमा यस्तो हिंसा गराएको आरोप लगाइन् ।
जिग्नेश मेवाणी र उमर खालिदविरुद्ध उजुरी दर्ता
भीमा कोरेगाउँमा भएको हिंसामा गुजरातका विधायक एवं दलित कार्यकर्ता जिग्नेश मेवाणी र जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी नेता उमर खालिदका विरुद्ध एफआईआर दर्ता गरिएको छ।
३१ डिसेम्बरमा ती दुईले भड्काउपूर्ण भाषण दिएको प्रहरीले बताएको छ । उनीहरूले उत्तेजक भाषण दिएको भन्दै अक्षय बिक्कड र आनन्द धोडले प्रहरीचौकीमा उजुरी गरेका थिए ।