काठमाडौँ-काठमाडौँ महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपाङ्ग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ ।कामपाको वडाध्यक्षहरुको बुधबार बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासिक र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए।
शाक्यका अनुसार कामपाभित्रका विशेषगरी वडा नं २५, १८, १७, २७ मा सवारी निषेध गर्न लागिएको हो। बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेकाले यस्तो निर्णय गर्नु परेको उनले बताए। इन्द्रचोक, मखन, नरदेवी, किलागललगायत भित्री बाटोमा चारपांग्रे गाडीलाई निषेध गर्ने र उनीहरुका लागि अन्य विकल्प पनि खोजिने जानकारी पनि उनले दिए।
साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सञ्चालन गर्न सकिनेछ। माघ २ गतेदेखि यस्तो नियम लागू हुने उनले जानकारी दिए। (रासस)
यो पनि हेर्नुहोस्: