
काठमाडौं– युएई र पाकिस्तानमा आयोजना हुने दृष्टीविहिनको विश्वकपमा सहभागी हुन नेपाली टोली रेल र बसको मार्ग हुँदैं गएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, पुर्वकप्तान विनोद दास लगायत खेलाडीले दुख ब्यक्त गरेका छन्।
नेपाल क्रिकेटका समर्थकहरुको फेसबुक समुह ‘नेपाली क्रिकेट सपोटर्स सोसाईटी(एनसिएसएस)ले सुरु गरेको आर्थिक सहयोग संकलन अभियानमा उनीहरुले साथ दिएका छन्।पारसले ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
यसैगरी पुर्व क्रिकेटर पारस लुनिया र अमृत भट्टराईले पनि ५०/५० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन्। पुर्व कप्तान विनोद दासले पाँच हजार, क्रिकेटर सोनु तामाङले पाँच हजार , रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले पाँच हजार दिने घोषणा गरेका छन्।
‘ अहिलेसम्म १० हजार जति जम्मा भएको छ। घोषणा भएको रकम जोड्दा करिब दुई लाख रुपैयाँ पुग्छ’, एनसिएसएसका अध्यक्ष भानु सिग्देलले भने। ‘हाम्रा मान्छेले दुख नपाउने निश्चित गर्नु हाम्रो पनि जिम्मेवारी हो’, दासले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्।
यसैगरी पारसले फेसबुकमा लेखेका छन्,‘हाम्रा क्रिकेटर पाकिस्तान जान ट्रेनबाट गएको समाचार सुन्दा दुख लागेको छ। उनीहरुलाई हाम्रो सहयोगको आवश्यकता छ। हामी मिलेर त्यसको ब्यवस्था गर्नुपर्छ। देशलाई पटक पटक गर्व गर्न लायक बनाउने दृष्टिबिहिन क्रिकेटरलाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु।’