
सोल- दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदासी बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतिको कार्यालयमा आमन्त्रण गरेका छन्।
जापानी सेनाले यौनदासीका रूपमा राखेर पीडित बनाएका ती महिलासँग माफी माग्न उनले उनीहरूलाई आमन्त्रण गरेको दक्षिण कोरियाले जनाएको छ।
उनीहरूको समस्या समाधान गर्ने विषयमा सन् २०१५ मा जापानसँग एक सम्झौता भएको थियो । उक्त सम्झौताबाट आफूहरूको मानमर्दन भएको भनी पीडित महिलाले विरोध गरेका थिए।
राष्ट्रपति इनले पनि गत साता सम्झौताबाट उक्त समस्याको समाधान नहुने बताएका थिए।
जापानी सेनाले दोस्रो विश्वयुद्धका समयमा दक्षिण कोरियाका महिलालाई यौनदासी राखेको विषयमा कोरिया र जापानबीच लामो समयदेखि विवाद हुँदै आएको छ।
सम्झौतामा यसरी दासी बनाइएका महिलालाई क्षतिपूर्ति स्वरूप पैसा दिने उल्लेख छ। त्यस सम्झौतामा दक्षिण कोरिया सुरुमा सहमत भए पनि ती महिलाले विरोध गरेका कारण सम्झौता विवादमा आएको हो।
सम्झौताबारे राष्ट्रपति इनका प्रवक्ताले उनीहरूसँग माफी माग्न राष्ट्रपतिको कार्यालयमा बोलाइएको जानकारी दिए। यसरी दासी बन्न बाध्य महिलाले दक्षिण कोरियाको सरकारले आफ्नो रगतसँग पैसा साटेको भन्दै विरोध गरेका थिए। रासस/सिन्ह्वा