धनगढी– प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका डोटीका बासिन्दाले बिहीबार दिपायलस्थित सरकारी कार्यालयहरुमा प्रदेश राजधानी र मन्त्रालयको साइनबोर्ड टाँस गरेका छन्।
क्षेत्रीय प्रशासन कार्यालय दिपायलले करिब एक महिनाअघि दिपायलमा रहेका भौतिक संरचनाको अध्ययन गरेर प्रदेश सरकारका संरचनाहरु बस्नसक्ने भवनहरुको ढाँचा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो। सोही अनुसार नै आन्दोलनकारीहरुले बोर्ड टाँसेका हुन्।
आन्दोलनकारीहरुले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेश संसद सचिवालय, क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृह मन्त्रालय, क्षेत्रीय हुलाक निर्देशनालयमा प्रदेश प्रमुखको कार्यालय, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा प्रदेश अर्थ मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा प्रदेश पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालयमा प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालयमा प्रदेश वन विज्ञान तथा वातावरण मन्त्रालयका बोर्ड टाँसेका छन्।
सरकारले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोक्ने तयारी गरेका बेला दिपायलमा राजधानी माग्दै आन्दोलन उग्र बनेको हो। डोटी उद्योग वाणिज्य संघको अगुवाइमा भइरहेको आन्दोलनमा जिल्लाका राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरु पनि सहभागी छन्। उनीहरुले बुधबारदेखि घोषणा गरेको अनिश्चितकालीन बन्दका कारण आज पनि दिनभर डोटी ठप्प रह्यो।
बन्दका कारण सयौँ सवारीका साधनहरु बिचबाटोमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन्। आन्दोलनकारीहरुले बिहीबार पनि दिपायल तथा सिलगढी बजारमा टायर बाल्दै प्रदर्शन जारी राखेका छन्।
लेखराज भट्टको पुत्ला दहन
आन्दोलनकारीहरुले नेकपा माओबादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् प्रदेश इन्चार्ज लेखराज भट्टको पुत्ला दहन गरेका छन्।

कैलालीको समर्थनमा दिपायलको चर्को विरोध गरिरहेका भट्टको आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय अघि पुत्ला दहन गरेका हुन्।
उनको पुत्लालाई शंख बजाएर बजार परिक्रमा गर्दै क्षेत्रीय प्रशासन कार्यालयअघि दहन गरिएको हो। दिपायलको विपक्षमा बालेकाले पुत्ला दहन गरेको नेकपा माओबादी केन्द्रका नेता तेजबहादुर डुम्रेलले बताए।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































