
विराटनगर- बुधबारदेखि बढेको चिसोसँगै विराटनगरको जनजीवन प्रभावित भएको छ।
चिसोले मुख्यत: बजारभन्दा पनि नगरको ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई समस्यामा पारेको छ।
केही महिनाअघि गएको बाढीबाट प्रभावित क्षेत्र यसपटक चिसोबाट पनि समस्यामा देखिएका छन्।
महानगरपालिकाको उत्तरपश्चिमस्थित खारजी कोहवाराको भित्री क्षेत्रमा बसोबास गर्ने विपन्नवर्गमा न्यानो लुगाको अभाव देखिएको गुनासो स्थानीयले गरेका छन्। महानगरपालिकाको वडा नम्बर ४ स्थित उक्त स्थानमा ५० घरपरिवार ऋषिदेव समुदायको छ।
‘गएको तीनदेखि चिसो बढेको छ, १० जनाको परिवार छ, काम पनि हुनसकेको छैन त्यसैले गाह्रो भइरहेको छ,’ स्थानीय रमेश ऋषिदेव बताउँछन्।
घर बनाउने स्थानमा ज्यालादारी काम गर्ने ५५ वर्षीय रमेशले जाडोका कारण काम हुन नसकेको गुनासो गरे। विगत १७ वर्षदेखि उक्त क्षेत्रमा बसोबास गर्दै आएका रमेश भन्छन्, ‘चिसोका कारण घरबाट बाहिर निस्कने अवस्था नै छैन।’
उनीसँगै घुर तापिरहेका अर्का बृद्ध विदु ऋषिदेवले भने, ‘चिसोका कारण काम गर्न गाह्रो भयो।’ ७८ वर्षीय विदुले भने, ‘चुनाव भयो, त्यो बेला सबै नेताहरु भोट माग्न आए। अब चिसोले हामी कठ्याँङ्रियौँ, कोही पनि अाएको छैन।’
विपन्नका लागि न सरकार छ न नेता भएको उनको गुनासो छ। ‘यस क्षेत्रबाट जितेर जाने अहिले समस्यामा न्यानो कपडा दिन त आउँदैनन् पछि के गर्छन् हाम्रो लागि,’ उनको प्रश्न थियो।
मोरङको क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने यस स्थानमा प्रदेशसभा सदस्यमा चुमनारायण तबदार र प्रतिनिधिसभा सदस्यमा एमालेका लालबाबु पण्डितले जित हात पारेका छन्। तर, जित हारेपछि उनीहरु गाउँमा नआएको दुवै बृद्धहरुको गुनासो छ।
त्यसैगरी विराटनगर वडा नम्बर १६ को मुसहरबस्तीलाई पनि चिसोले समस्यामा पारेको छ। वडा अध्यक्ष मनोज सुब्बा भन्छन्, ‘चिसोले प्रभावित क्षेत्रमा न्यानो लुगा वितरण गर्नुपर्नेछ तर वडासँग बजेट छैन।’ महानगरपालिकाबाट पनि कुनै ठोस कार्यक्रम नआएको बताएका वडाअध्यक्ष सुब्बाले सहयोगी हातको खाँचो रहेको उल्लेख गरे।
महानगरपालिका भने चिसोबाट कुनै पनि प्रकारको क्षति हुन नदिन सजग छ। तीन दिनदेखि बढेको चिसोका विषयमा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र अन्य निकाय सजग रहेको महानगरपालिका कार्यकारी अधिकृत प्रदीप निरौलाले जानकारी दिए।
विपन्न समुदायसम्म चिसोबाट जोगिने सामग्री पुर्याउन आफूहरुले सक्ने जति सहयोग गर्ने उनको भनाइ छ। महानगरपालिका एक्लैले सबै कार्य गर्न नसक्ने र यसका लागि सहयोगी संघसंस्थाको आवश्यकता रहने कार्यकारी निरौला बताउँछन्।
चिसो बढेसँगै दैनिक रुपमा ८० देखि १ सयको संख्यामा बिरामीहरु अस्पताल पुग्ने गरेको कोशी अञ्चल अस्पतालले जनाएको छ। अधिकांश बच्चाहरु निमोनिया र बृद्धबृद्धाहरुमा दमको समस्या देखिएको छ। चिसोका कारण विराटनगरको हवाई सेवा आंशिक रुपमा प्रभावित भएको छ। त्यसैगरी विद्यालयहरुमा परीक्षा भइरहेको हुँदा बन्द गर्नुपर्ने अवस्था नआएको प्याब्सन मोरङले जनाएको छ।
तस्बिरहरु: अभयकुमार राई
यो पनि हेर्नुहोस्: