नेपालगञ्ज–नेपालगञ्ज उपमहानगरपालिकामा मेयर र वडाध्यक्षहरुको विवाद छताछुल्ल भएको छ। मेयर र उपमेयरले बोर्डलाई थाहा नदिएर आफूखुशी विविध निर्णय गरेको भन्दै वडाध्यक्षहरु तालाबन्दी गर्ने हदसम्म उत्रिएका छन्।
लक्षित वर्गको पैसा आफूखुशी गैससहरुलाई बाँडेको भन्दै आक्रोशित भइरहेका वडाध्यक्षहरुले फेरि स्वास्थ्यकर्मी आवश्यकताको सूचना नगरपालिका कार्यालयमा टाँसेको देखेपछि तालाबन्दी गर्न कस्सिएका थिए।
‘लक्षित वर्गको रकम आफूखुशी बाँडेपछि हामीले बोर्ड बैठक बोलाऊ भनेर अनुरोध गरिरहेका थियौं, त्यसकै लागि नगरपालिकामा जम्मा भएका थियौं, सूचना पाटीमा स्वास्थ्यकर्मी माग गरेको सूचना देखियो, त्यसपछि झन् वडाध्यक्षहरु तातिए,’ एक नम्बर वडाका वडाध्यक्ष प्रमोद रिजालले भने, ‘२४ घण्टाभित्र बैठक बोलाउन सचेत पत्र बुझाएका छौं।’
मेयर, उपमेयरले बोर्ड बैठक नै नराखेर आफूखुशी निर्णयहरु गरिरहेको शुरुदेखि नै वडाध्यक्षहरुले आरोप लगाउदै आएका छन्। ‘समिति बनाएर समितिमार्फत काम गर्नुपर्नेमा मेयर र उपमेयरले आफूखशी काम गरेका छन्,’ वडाध्यक्षहरु भन्छन्।
विभिन्न पार्टीबाट नगरपालिकामा पुगेका मेयर, उपमेयर र वडाध्यक्षहरुको अहिलेसम्म एकमना निर्णय गरेर काम हुन सकेको छैन। आफ्ना मान्छेलाई जागिर खुवाउन बोर्ड बैठकमा जानकारी नदिई कर्मचारी आवश्यकता निकालिएको वडाध्यक्षहरुको भनाइ छ। मेयर डा. धवल शमशेर राणा बाहिर रहेकाले वडाध्यक्षहरुले उपमेयर उमा थापामगरलाई ज्ञापनपत्र बुझाएका छन्।
यसैबीच, नगरपालिकाले आइतबारका लागि बोर्ड बैठक बसाउने तयारी गरेको छ। वडाध्यक्षहरुले २४ घण्टाभित्र बैठक बसाउन लिखित चेतावनी दिएपछि नगरपालिका प्रशासनले आइतबार बैठक बसाउने तयारी गरेको हो।
यो पनि हेर्नुहोस्: