
काठमाडौं- सधैंजस्तो प्रदर्शनी हुँदै गर्ने भृकुटीमण्डपमा पहिलो पटक विद्युत उत्पादनका लागि आवश्यक पर्ने आधुनिक प्रविधिको प्रदर्शनी गरिएको छ। हाल नेपालमा ३ हजार ५ सय मेघावाटका जलविद्युत आयोजना निर्माण भइरहँदा र करिब ५ हजार मेघावाटका आयोजनाहरुको पीपीए (पावर पर्चेज एग्रिमेन्ट) हुने क्रममा हुँदा एक्स्पो आयोजना गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको हिमालयन हाइड्रो एक्स्पो- २०१८ को आयोजना स्वतन्त्र उर्जा उत्पादक संघ (ईपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसले गरेको हुन्।
ईपानका अध्यक्ष शैलेन्द्र गुरागाईले देशमा नयाँनयाँ जलविद्युत आयोजना निर्माण भइरहँदा यस क्षेत्रसँग सम्बन्धित नयाँ नयाँ प्रविधिहरुको प्रदर्शनी गर्न एक्स्पो आयोजना गरिएको बताए।
उनी भन्छन्, ‘एक्स्पोमा उर्जा उत्पादकहरु र उर्जा क्षेत्रमा चासो भएकाहरुले विश्वका नवीनतम प्रविधिको जानकारी लिन सक्नेछन्।’
गुरागाईँले भनेझैँ एक्स्पोमा टनेल खन्न प्रयोग हुने नयाँ प्रविधिदेखि नयाँ हाइड्रोपावर निर्माणमा प्रयोग हुने ह्याभी इक्युपमेन्टहरु प्रदर्शनी गरिएको छ।
भृकुटीमण्डपमा शुक्रबार सुरु भएको एक्स्पो तीन दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन्।
राष्ट्रपति भण्डारीले एक्स्पो उद्घाटन गर्दै भनिन्, जलविद्युतले पर्यावरण संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिनुको साथै जलवायु परिवर्तनले ल्याउने प्रभावलाई न्यूनीकरण गर्नुको साथैं आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ।’ उनले उर्जा उत्पादनमा निजी क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गरिन्।
कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उत्पादनमूलक उद्योगको विकासका लागि ऊर्जा क्षेत्रको विकास हुनुपर्ने बताइन्।
सरकारले प्रक्रियागत जटिलताहरु हटाउने काम गर्ने हो भने निजी क्षेत्रले उर्जा उत्पादनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिन सक्ने दाबी गरिन्।
यस्तै कार्यक्रममा उपस्थित नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले दक्षिण एसियामा सबैभन्दा पहिला उर्जा उत्पादन सुरु गरेको नेपाल हालका दिनमा सबैभन्दा कम उर्जा उपभोग गर्ने, कम उर्जा उत्पादन गर्ने र उर्जा क्षेत्रबाट कम रोजगारीका अवसर सिर्जना गर्ने अवस्थामा पुगेको बताए।
उनले अबको चुनौती उर्जा उत्पादन गर्न मात्रै नभएर सस्तो उर्जा उत्पादन गर्नु भएको पनि बताएका थिए।
एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल छन्।
एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत कम्पनीको समेत सहभागिता छ।