वासिङटन- अमेरिकाका शक्तिशाली सिनेटर र्यान्ड पउलले पाकिस्तानलाई दिने अमेरिकी सहायता रोक्ने विधेयक ल्याउने जानकारी दिएका छन्। उनले यसबाट बचत हुने रकम अमेरिकामा सडक र पुल निर्माण गर्न बेग्लै कोष बनाइने बताएका छन्।
ट्रम्प प्रशासनले पाकिस्तानलाई दिने सुरक्षा सहायतामा रोक लगाउने घोषणालगत्तै रिपब्लिकन सिनेटर पउलले भने, ‘पाकिस्तान दिने सहायता रोक्न म छिटै एक विधेयक ल्याउँदै छु। मेरो विधेयकमा पाकिस्तानलाई सहायताको नाममा दिइने रकम सडक एवं पुल निर्माण गर्न एक कोष बनाइनेछ।’
अमेरिकी झण्डा जलाउने पाकिस्तानीलाई फुटेको कौडी पनि दिन नहुने उनले बताए। अमेरिकाको नाश भन्ने नारा पाकिस्तानमा लगाउने गरेको उनले दाबी गरे। उनले भने, ‘आतंकवादविरुद्धको युद्धमा महत्वपूर्ण सूचनासम्म नदिने पाकिस्तान अमेरिकी सयोग पाउन योग्य छैन।’
१५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब अमेरिकी डलर दिएर कुनै फाइदा नभएको सिनेटर पउलले बताए। ट्विन टावरमा आक्रमण गर्ने अल कायदाका नेता ओसामा बिन लादेनलाई खोज्न पनि पाकिस्तानले सहयोग नगरेको उनले बताए। लादेनको बारेमा जानकारी दिने व्यक्तिलाई पाकिस्तानले जेलमा राखेको भन्दै आलोचना पनि गरे। (एजेन्सी)
यो पनि हेर्नुहोस्: