नेपालगञ्ज –बाँकेको कोहलपुरमा गाडीले ठक्कर दिँदा दुई बालकको ज्यान गएको छ। छुट्टाछुट्टै घटनामा मृत्यु भएका बालकको शव सडकमै रहेको छ।
से १ ख १२७७ नम्बरको ट्रकको ठक्कर दिँदा ७ वर्षीय विजेन रानाको घटनास्थलमै मृत्यु भएको छ।
चालकलाई कारबाही र क्षतिपूर्तिको माग राखेर स्थानीयले दिनभरि नै पूर्व–पश्चिम बन्द गरेका छन्।
शवलाई राजमार्गमै राखिएको छ ।
स्कुल जाने क्रममा रहेका बालकलाई बाटो पार गर्दा ट्रकले ठक्कर दिएको थियो। बालक स्थानीय ग्रिनपिस स्कूलमा पढ्थे। अपरान्ह चार बजेतिर प्रहरीले शवलाई बाटोको छेउमा राखेर सवारी साधन सुचारु गरेको छ। ‘क्षतिपूर्तिमा कुरा मिलेको छैन’ मध्यस्थता गरिरहेको एकले बताए।
पूर्व–पश्चिम राजमार्गमा शवलाई राखेर आन्दोलन भइरहँदा चप्परगौडीकै दिपज्योति बोर्डिङ स्कूलमा अर्का ६ वर्षीय बालकको गाडीको ठक्करले मृत्यु भएको छ। स्कूलले सञ्चालन गरेको भे १ ख १९६८ नम्बरको बसले ठक्कर दिँदा सोही स्कूलमा एलकेजीमा पढ्ने ६ वर्षका समीर थारुको मृत्यु भएको हो। स्कुलको चौरमा खेलिरहेका समिरलाई स्कुल बसले ‘ब्याक’ गर्ने क्रममा किचेको थियो। समिरको घटनास्थलमै मृत्यु भएको थियो।
स्कुलभित्रै बालकको मृत्यु भएपछि आफन्तहरुले शव नउठाएर नाराबाजी गरेका छन्। बालकका बुवा विदेशमा रहेको र हजुरबुवा सर्लाहीबाट आउँदैछन् । कोहलपुर नगरपालिका–२, बर्दहवामा बस्ने बालकको शव यतिबेला स्कूलको चौरमा छ ।
७ वर्षीय बालक राना र ६ वर्षीय बालक थारुको शव घटनास्थलमै छन्। दुवै पक्षले शव नउठाएपछि सुरक्षा निकाय तनावमा परेको छ।