
बागलुङ- धवलागिरी अञ्चल र आसपासका क्षेत्रहरुमा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय सम्पदाको प्रचारप्रसार र प्रबर्द्धन गर्न राखिएको फोटो प्रदर्शनीमा फोटो अवलोकन गर्नेहरु बढ्दै जान थालेका छन्।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित बागलुङ महोत्सवमा प्रदेश नम्बर ४ स्तरीय पश्चिम प्याराडाइज फोटो प्रदर्शनीले महोत्सव स्थलमा फोटो प्रदर्शन गरेको हो।
बागलुङलाई केन्द्र बनाएर पश्चिम क्षेत्रको पर्यटन, संस्कृति, जीवनशैली, परम्परा, सामाजिक परिवेश र सिङ्गो समाजलाई पहिचान गर्न फोटो प्रदर्शनी महत्वपूर्ण रहने फोटो प्रदर्शनी आयोजक समितिका सदस्य आरके अदिप्त गिरीले बताए।
‘फोटो प्रदर्शनी बागलुङ र पश्चिमको ऐतिहासिक जीवनशैली समेटिएका तस्बिरले पर्यटनमा थप टेवा पुर्याउने छ। महोत्सवमा राखिएको फोटो प्रदर्शनीमा एनआरएन अध्यक्ष भवन भट्ट, ग्लोवलआइएमइ बैँकका अध्यक्ष चन्द्र ढकालदेखि जनप्रतिनिधिहरु, युवायुवती, विद्यार्थी, सर्वसाधारण अवलोकन गर्न आएका छन्,’ गिरीले बताए।
बागलुङ महोत्सवमा फोटो अवलोकन गर्नेहरुको संख्या बढ्दै जान थालेको छ।
सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरुले अवलोकन गर्ने फोटो प्रदर्शनीमा दैनिक २ सय देखि ३ सय आउने गरेको गिरीले बताए।
प्रदर्शनीमा बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ ,रुकुम, डोल्पा, गुल्मी, लुम्विनी लगायतका क्षेत्रको पर्यटकीय सम्भावना र व्यापारिक महत्व झल्क्याइएका फोटो राखिएको आयोजक समितिका संयोजक अर्जुन चोखालले बताए।
‘हजार कुराहरु एउटा फोटोले बोल्छ’ भन्ने सामाजिक भनाइको महत्व सार्थक रहने बागलुङ महोत्सव आयोजक समितिका संयोजक जयरामभारीले बताए। ‘जिल्लामा पुग्न नसकिने स्थानको पहिचान भएको छ । यसबाट पर्यटनको विकास, बजारीकरण, प्रबर्द्धनमा फोटो प्रदर्शनीको महत्व छ, भारीले भने।
आरके अदिप्त गिरी, मञ्जुल शाक्य, किरण आचार्य, प्रकाश बराल, राम थापा, नरेश कँडेल र खिम बहादुरक्षेत्री लगायतका फोटो पत्रकारहरुको फोटो प्रदर्शन गरिएको हो।