
धनगढी- विभागीय टीम एपीएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ।
धनगढी रंगशालामा शनिबार भएको खेलमा पोखराको सहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पाखा लगाउँदै विभागीय टीम अन्तिम आठमा पुगेको हो। पहिलो हाफमा पाएको पेनाल्टी र दर्जनौ गोल गर्ने मौका गुमाउँदा सहारा पेनाल्टी सुटआउटमा एपीएफलाई खेल सुम्पन बाध्य भएको हो।
पहिलो हाफको २१ औं मिनेटमा सहाराले पाएको पेनाल्टी खेर फालेको थियो। सहाराका विनोद गुरुङले गरेको पेनाल्टी गोलपोस्टको दायाँ किनाराबाट बाहिरिएको थियो। पहिलो हाफ र दोस्रो हाफमा पनि कुनै गोल हुन नसकेपछि भएको पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पुर्याएका हुन्।
गोल रोकेर टिमलाई जिताएका उनी म्यान अफ द म्याच भए। उनले नगद १० हजार हात पारे।
पेनाल्टी सुउआउटमा एपीएफएका लागि गोलरक्षक नगरकोटी सहित अन्जन बिष्ट, सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए।
सहाराका लागि लक्ष्मण जिसीको प्रहार गोल हुन नसक्दा सुसन गुरुङ, विजय श्रेष्ठ, मानबहादुर तामाङ र फुर्वा लामाको प्रहार भनेर गोलमा परिणत भएको थियो।
जितपछि प्रतिक्रिया दिँदै एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले तालमेल नमिल्दा राम्रो खेल्न नसकेको स्वीकार गर्दै मौसमले पनि समस्या आएकोले अर्को खेलमा अझ सुधार आउने बताए।
सहाराका प्रशिक्षक किरन गुरुङले पेनाल्टी गुमाउँदा र मौकाको सदुपयोग गर्न नसक्दा खेलमा हार व्यहोरको बताए। प्रतियोगिता अन्तर्गत भोलि काठमाडौँको सिएमजी संकटा र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
पुस २१ गतेदेखि सुरु भएको प्रतियोगिता माघ १ गतेसम्म धनगढीमा सञ्चालन हुनेछ। प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११, उपविजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ। विभिन्न विधाका उत्कृष्टहरुलाई १५/१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ।
‘प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०/१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ,’ प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए।