विराटनगर- सुनसरीको इटहरीमा आइतबारदेखि ४२ औं एथलेटिक्स प्रतियोगिता सुरु भएको छ।
तीन दिनसम्म हुने प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा त्रिभुवन आर्मी क्लब ७ स्वर्णपदकसहित तालिकाको पहिलो स्थानमा छ।
त्यसैगरी सशस्त्र प्रहरी बलको एपीएफ ३ वटा स्वर्णपदकसहित दोस्रो स्थानमा छ भने १ स्वर्णपदकसहित मध्यपश्चिम क्षेत्र तेस्रो स्थानमा छ।
राष्ट्रिय खेलकुद परिषद् च्याम्यिनसिप अन्तर्गत इटहरी रङ्गशालामा भएको पुरुष १० हजार मिटर दौडतर्फको उपाधि सशस्त्र प्रहरी बल एपीएफका धावक गोपीचन्द पार्कीले हात पारेका छन्।
सातौं राष्ट्रिय खेलकुदमा ५ र १० किलोमिटरतर्फको दौडमा स्वर्णपदक हात पारेका गोपीले १० हजार मिटरको दौड ३२ मिनेट १७ सेकेण्डमा पूरा गरेका थिए। त्यसैगरी त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले निर्धारित दुरी ३२ मिनेट २० सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे।
आर्मीकै टीकाराज कट्वालले भने निर्धारित दुरी ३२ मिनेट ४७ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाए।
त्यसैगरी महिलातर्फको १० हजार मिटरको दौडमा त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले पहिलो स्थान हात पारिन्। विश्वरुपाले निर्धारित दुरी ३७ मिनेट २९ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन्। विश्वरुपालाई पछ्याउने क्रममा आर्मीकै रेसु बस्नेत दोश्रो भइन्। रेसुले दुरी ३७ मिनेट ४७ सेकेण्डमा पुरा गरेकी थिइन्। सशस्त्र प्रहरी बल एपीएफकी विन्द्राधन्के श्रेष्ठले भने दुरी ३८ मिनेट १३ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाइन्।
त्यसैगरी पुरुष र महिलातर्फको ८ सय मिटर दौडमा त्रिभुवन आर्मीले स्वर्णपदक जितेको छ। सय मिटर दौडको पुरुषतर्फ आर्मीले स्वर्णपदक जित्दा महिलातर्फको स्वर्णपदकमा एपीएफले कब्जा जमाएको छ।
प्रतियोगितामा ३५ स्वर्णपदकका लागि पाँच विकास क्षेत्र र तीन विभागीय टोलीबाट १ सय ८७ जना खेलाडीले प्रतिस्पर्धा गरिरहेको मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष किशोरलाल अमात्यले जानकारी दिए। पहिलो दिनको खेल सकिँदा दुई विभागीय टोली र मध्यपश्चिमको टोलीले स्वर्णपदक जितेका छन्।
(*यसअघि यो न्यूजमा भूलवश किलोमिटर हुन गएकामा सच्च्याइएको छ।)

बिश्वरुपा बूढा र रेशु बस्नेत।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































