नेपालगञ्ज- नेपालगञ्ज भन्सारबाट राजश्व नतिरी मालवाहक भारतीय ट्रक पास भएको घटनामा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले विपक्षीलाई छलफलका लागि बोलाएको छ।
ट्रक धनी भारत कानपुरका हंसकुमार गुप्ताले मालधनी र एजेन्टले राजश्व छल्ने उद्देश्यले पहिलो पटक नेपाल आएका चालकलाई घुमराहमा पारेर ट्रक पार गराएको दावीसहित उच्च अदालतमा उत्प्रेषण र परमादेशको मुद्दा दायर गरेको थियो।
सोमबार भएको बहसमा न्यायाधीश गणेशप्रसाद बरालको इजलासले पुस ३० गतेसम्म ट्रक लिलामी नगर्न र ३० गते नै छलफलका लागि आउन विपक्षीहरु राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय, अनुसन्धान अधिकृत कर्णप्रसाद तिमिल्सेना, संघीय प्रहरी इकाई कार्यालय नेपालगञ्ज, भन्सार कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोलाएको छ।
कात्तिक ११ गते साँझ राजश्व नतिरी भन्सार पार भएको मालवाहक ट्रकलाई संघीय प्रहरी इकाई कार्यालयको टोलीले चौलिक्काबाट नियन्त्रणमा लिएर राजश्वमा बुझाएको थियो । मंसीर ११ गते राजश्व अनुसन्धान कार्यालयले २४ लाख २९ हजार ६ सय जरिवाना, एक महिना कैद र ट्रक जफतको निर्णय गरेको थियो।
ट्रक मालिक गुप्ताले ट्रक जफतको निर्णय बदर गर्न र लिलामी रोक्न अदालतमा रिट दायर गरेका थिए। एघार हजार दुई सय रुपैया भारुमा थपलिया इन्टरप्राइजेज र दुर्गेश इलेक्ट्रोनिक्स एण्ड जनरल अर्डर सप्लायर्सको मेनिसरी सामान बोकेर आएको युपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रकलाई मालधनी र भन्सारका एजेन्टले कर्मचारीसँग मिलेर राजश्व नतिरी भन्सार पार गराएका थिए।
‘मालधनी र एजेन्टले मोटरसाइकलमा अघिअघि हिड्दै हातको इशाराले अगाडि बढ्न भनेपछि चालकले ट्रकलाई अघि बढाएका थिए, चौलिक्कामा प्रहरीले समातेपछि उनीहरु भागे, चालक र मेरो ट्रक फस्यो, ट्रकमालिक गुप्ताले भने।
दैनिक तीन सय रुपैयामा ट्रक चलाएका वीरेन्द्रकुमार पाल यतिबेला जेलमा छन् । उनले पनि राजश्व न्यायाधीकरणमा अपिल गरेका छन्। मालधनी, भन्सार एजेन्ट र कर्मचारीको राजश्व ठगी नियतको शिकार भारतीय ट्रक र चालक भएका छन्।
सामान किनेकोदेखि जमुनाहासम्म आउदा ट्रकले सबै प्रक्रिया पूरा गरेको छ। भन्सार कार्यालयमा आइपुगेपछि मात्रै सबैतिरको मिलोमताले गर्दा सयबढी लाइनमा बसेका ट्रकलाई उछिन्दै उक्त ट्रक अघि बढेको थियो।
यो पनि हेर्नुहोस्: