
काठमाडौं- रामबाबु गुरुङले निर्देशन गरेको ‘मिस्टर झोले’ को ‘कभर भिडियो कम्पिटिसन’ मा ‘क्रिस्टल क्लाउज क्रू’ पहिलो भएर बिजेता बनेको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा निर्माण पक्षले सो घोषणा गरेको छ।
यस्तै फिल्मको ‘ओखती’ बोलको गीतका लागि प्रतिस्पर्धी भिडियो मध्येबाट उत्कृष्ट ३ को घोषणा समेत गरिएको छ भने वान सटमा खिचिएको ‘किशन एण्ड डान्स क्रू’ले निर्माण गरेको भिडियो दोस्रो घोषित हुदा ‘द डाइनामिक क्रू’ को भिडियो तेस्रो बन्यो।
प्रथम, दोस्रो, र तेस्रो हुनेलाई फिल्मका नायक दयाहाङ राईले क्रमश १ लाख ५५ हजार, १ लाख २५ हजार र १ लाख ५ हजार नगद पुरस्कार प्रदान गरे।
सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन्। कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको छ।
फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्धी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ।
फिल्म पुष २८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।